नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सेजुवालद्वारा लिखित पुस्तक ‘प्रेस फ्रिडम’ मिडियाले प्रकाशन गरेको हो।
पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका रहेका छन्। पुस्तकमा दैनिक पत्रिकाहरुले पहिलो पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित समाचारका त्रुटिलाई औँल्याइएको छ। पत्रिकाका पहिलो पृष्ठ कति असन्तुलित, पक्षधर र पूर्वाग्रही सामग्री प्रकाशित भए भन्ने विषयलाई पनि पुस्तकमा उल्लेख गरिएको छ।
त्यसैगरी, सुर्खेतलाई केन्द्र बनाएर चलेको सिमाङ्कन आन्दोलनले मुलुकको राजनीतिक विभाजन ६ प्रदेशको सिमाङ्कनलाई बदलेर ७ प्रदेश बनाएको बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ। पुस्तकमा आन्दोलनको कसीमा मिडियालाई पनि प्रस्तुत गरिएको छ।
पुस्तकको विमोचन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता सही मार्गमा हिँडे मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए। उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रका लागि उपयोगी हुने उल्लेख गरे।
पुस्तकले घटनाको विश्लेषण, व्यावसायिकरुपमा देखिएको गलत अभ्यासबाट सच्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न सघाउ पुग्ने बताए। पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
उनले पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए।
वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताए।
महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए। नेपाल पत्रकार महांघका पूर्व अध्यक्ष धमेन्द्र झाले पत्रकारका लागि पुस्तक उपयोग हुने बताए।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको बताउँदै पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको बताए। कार्यक्रममा पत्रकार निर्मला शर्मा, गोविन्द कोइराला, लेखक कलेन्द्र सेजुवाल लगायतले पुस्तकबारे धारणा राखेका थिए।