पुस २७ डाेटी: दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्का ‘विजय’ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोटीका सभापति केशव बलायरले रक्तदान गर्दा एक महिलाको ज्यान जोगिएको छ ।
उच्च रक्तस्रावका कारण सुजङ अस्पताल राजपुरमा भर्ना भएकी जिल्लाको बाेगटान फुड्सिल गाउँपालिका -७ की ३६ वर्षीय बिरामी दिपा कुडमाललाई ‘ए’ पोजेटिभ एक/एक पिन्ट रगत दिएर ज्यान जोगाएको हो।
अस्पतालमा पुगेर नगर प्रमुख खड्का र सभापति बलायरले ‘ए’पोजेटिभ १/१ पिन्ट रगत बिरामी महिलालाई दिएका हुन् ।
सुजङ अस्पतालमा उपचाररत बिरामी रगतको अभावमा छटपटिरहेकाे खबर पश्चात् पिपल्ला बजारमा भइरहेको एक कार्यक्रमलाई छोडेर नगर प्रमुख खड्का अस्पताल पुग्नु भएको उनका स्वकीय सचिव नरेश खड्काले बताए ।
पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दिपायलको पिपल्लामा नागरिक समाजले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख खड्का प्रमुख अतिथि र रास्वपाका सभापति बलायर विशिष्ट अतिथि थिए ।
रगत अभावले ज्यान निक्कै जोखिममा रहेको खबर पाए सँगै कार्यक्रम समापन नहुँदै आफू ती महिलाको ज्यान जोगाउन अस्पताल पुगेको उनले बताए । बिरामीलाई रगत दिन पाउँदा आफू निकै गौरवान्वित भएको प्रमुख खड्काले बताए। उनले भने, “मैले दान गरेको रगतले एउटा छोरी, चेलीको ज्यान जोगिएको छ, त्यसभन्दा ठुलो मेरा लागि खुसीको कुरो के हुन सक्छ र?”
अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।