हिमाल जोशी,धनगढी : कैलालीको भादामा आजबाट थारु होम स्टे गाउँ भादा महोत्सव सुरु भएको छ। पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरेका छन्।
थारु संस्कृतिको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले आयोजित महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले भादा थारु होम स्टेको विकास गरे पर्यटक भित्र्याउन सकिने बताए।
उनले भने, ‘सुदूरपश्चिमको विकासका लागि पर्यटनको विकास नै मुख्य आधार हो, त्यसमा यो होम स्टेको पनि थप विकास गर्न आवश्यक छ, यसका लागि प्रदेश सरकारका तर्फबाट गर्न सकिने सहयोग गर्न तयार छु।’
थारु समुदायको परम्परा, संस्कृति, खानपान, वेषभूषा, सीप, कला, प्राकृतिक सम्पदाको संरक्षण र स्थानीय स्वरोजगार तथा थारु जातिको पहिचान पर्यटन व्यवसायमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ सञ्चालन भएको महोत्सव होमस्टे सञ्चालन र वडाको विकासका लागि निकै महत्वपूर्ण रहेको मन्त्री देउवाले बताए।
उनले यस महोत्सवले स्थानीय थारु समुदायको मौलिक संस्कृतिक सखिया, झुम्रा मघौटा लट्टी बैठकी नाचलगायत मौलिक परिकारको प्रचार प्रसारमा ठूलो योगदान पुग्ने बताए।
ढिक्री, खरिया, फुलोरी, अण्डीक भात, पनझरा कचरीक, बरिया, घोगी गेङगटा, सुटही मुसाको सेकुवा जस्ता परिकार पर्यटकका लागि निकै आकर्षक रहने बताउँदै मन्त्री देउवाले थारु समुदायको सांस्कृति र जीवनसँग जोडिएका मौलिक खानपान संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने उल्लेख गरे।
धनगढी बजारदेखि १७ किमि दूरीमा रहेको थारु होमस्टे भादा गाउँमा पर्यटकलाई भित्र्याएर बास बस्ने वातावरण बनाउनसके ठूलो उपलब्धी हुने मन्त्री देउवाको भनाइ छ।
धनगढी उपमहानगरपालिका–१६ भादामा रहेको थारु होम–स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति कैलालीको आयोजनामा दिपेन्द्र चारपाते माविको खेलमैदानमा सुरु भएको महोत्सवमा १ सयभन्दा बढी स्टल राखिएका छन्। महोत्सवमा दैनिक थारु समुदायका स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने महोत्सवका संयोजक लक्ष्मिनारायण चौधरीले बताए।