कार्तिक २४, डोटी : बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको उपाधि आयोजक सिमचौरले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा धिर्कामान्डौलाई हराउँदै सिमचौरले उपाधि जितेको हो ।
वडा नम्बर १ को आयोजनामा सिमचौरमा सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० मा सिमचौरले धिर्कामान्डौलाई २५-२१, २५-१८ र २५-२० को सोझो सेटमा हराएको हो । सिमचौर केदारअखडालाई र धिर्कामान्डौ चवराचौतारालाई हराउँदै फाइनलमा पुगेका थिए । प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा केदारअखडाले चवराचौतारालाई हराएको छ ।
जितसँगै सिमचौरले नगद रु. ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो भएको धिर्कामान्डौले नगद रु. ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तेस्रो भएको केदार अखडाले नगद रु. २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताको समापनमा चर्चित डेउडा गायक भुवनप्रसाद दाहालको प्रस्तुति रहेको थियो । प्रतियोगिता शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई वडा अध्यक्ष खेम घर्तीमगरले धन्यवाद दिएका छन् ।