कार्तिक १८,डोटी : भूकम्प प्रभावितलाई डोटीको सायल र बोगटान फुड्सिल गाउँपालिकाले २-२ लाख रुपैयाँ उपलव्ध गराउने घोषणा गरेका छन् । सायल र बोगटान फुड्सिल गाउँपालिका अध्यक्षहरुले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन ।
डोटीको सायल र बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई / दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोग बारे जानकारी दिएका हुन ।
जाजरकोटको बारेकोट गाउँपालिका वडा न- १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटना प्रति पालिकाले दुःख व्यक्त गरेको छ ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक/एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ । भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सवैसँग अपिल गर्दछौँ ।’
त्यसैगरी बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटना प्रति पालिकाले दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक/एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ ।
भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सवैसँग अपिल गर्दछौँ । ’
जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।