असोज १६,दिपायल:राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य डा. ठाकुर मोहन श्रेष्ठले अप्रत्यासीत मुल्यहिन गठबन्धनले देशमा अस्थिर राजनीतिक र अन्यौलता बढेको बताएका छन् ।
सोमबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘नेपालमा धार्मिक दंगा उकासेर रणनैतिक लाभ लिन बिदेशी शक्तिहरु सक्रिए रहेका छन्’, श्रेष्ठले भने, ‘राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्र अहिलेको आवश्यता रहेको छ ।’ राप्रपा अब नविन राप्रपाको लक्ष्य अनुरुप शहर र गाउँको समग्र विकास, सुशासन र सदाचारमा केन्द्रीत रहने उनले बताए ।
‘व्यवस्था परिवर्तन भएपनि अवस्थामा उल्लेखनीय सुधार तथा विकास हुन सकेन’, श्रेष्ठले भने, ‘भ्रष्टाचार र व्यथितिबाट राज्यका कुनै अंग अछुतो रहेनन्, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकीहरुसंगको कुटनीतिकका जगहरु खलबलिएका छन् ।’ उनले ‘गाउँ फर्क, देश बन्छ’ भन्ने नारालाई सबैले लागु गरेर अगाडि बढ्नुपर्ने बताए ।
जन्मथलो सिलगढी भएका श्रेष्ठ संघियता नेपालको माटो सुहाउदो नरहेको बताए । हरेक दृष्टिकोणले उपयुक्त केन्द्रविन्दु डोटी रहेपनि सुदूरपश्चिम प्रदेशको राजधानी अल्पसोच र माटोको मर्म नबुझेर सुदूरपश्चिमका शिर्षस्थ नेताहरुले अन्यत्र सारेको उनले बताए ।
सबै दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सम्पन्न भएपनि यहाँका नेताहरुले त्यो कुरा बुझ्न नसकेको उनले बताए । पश्चिम सेती जलविद्युत परियोजना जस्ता राष्ट्रिय गौरभका योजनाहरु यथासिघ्र सुरु गर्नु पर्ने र खुटिया, दिपायल फास्टट्र्याक समेत छिटो संचालनमा ल्याउनुपर्ने बताए । – सिलेट खबर