Sujang

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग

डोटी : अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई ८ लाख ४५ हजार २७५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । टेक बलायर लगायतका स्थानीय युवाहरुले “हेल्प डेस्क” नामक अभियान चलाएर सो रकम संकलन गरेका थिए ।

अभियानका क्रममा उठेको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच शिखर नगरपालिकाका नगर उपप्रमुख सुनिता रावल जोरा मार्फत सो रकम हस्तान्तरण गरिएको हो ।

भाद्र २८ गते डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्गको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा शिखर नगरपालिका – ८ का महरा र सोही वडाका पदम बलायरको निधन भएको थियो । मृतक महराको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र परिवारलाई धेरै ऋण भएका कारण आर्थिक सहयोग संकलनका लागि अभियान सञ्चालन गरिएको अभियान्ता टेक बलायरले बताए । विभिन्न व्यक्तिहरूबाट सहयोग स्वरूप उठेको रकम जस्ताको त्यस्तै परिवारलाई हस्तान्तरण गरिएको र सहयोग गर्ने व्यक्तिहरूको नाम र रकम सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उनले बताए । मृतक महरा सबैका प्रिय व्यक्ति थिए, उनको पारिवारिक अवस्था पनि नाजुक थियो,”उनले भने,” हामीले उनको परिवारलाई लागेको ऋण तिर्ने लक्ष सहित अभियान सञ्चालन गरेका थियौं, त्यो पूरा भएको छ । ऋण तिरेर बाँकी रहेको रकम मृतकका बच्चाहरूको नाममा खाता खोलेर जम्मा गर्न भनेका छौं । बीमाको रकम पाउन बाँकी छ ।”

अभियानका क्रममा उठेको रकम मृतककी आमा डिकरी देवी महरालाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख रावलले युवाहरुको अभियानले परिवारलाई आर्थिक सहयोगसँगै आलो घाउमा मलम लगाउने काम गरेको बताइन्। “यो अभियानले छिमेकी, आफन्त मर्दा पर्दा चाहिन्छ भन्ने उदाहरण बनेको छ,” उनले भनिन्,”यो हाम्रो पुर्खा देखिको सहयोगी प्रचलन हो । अभियान्ता युवाहरु र सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछौं। दुर्घटना भए लगत्तै नगर प्रमुख सहितको टोली उद्दारमा खटिएका थियौं तर बचाउन सकिएन। अहिले उठेको रकमले उहाँको पारिवारिक समस्या समाधान हुने छ,” नाबालकहरुको पालनपोषण र शिक्षादीक्षामा सहयोग पुग्ने छ । हामी नगरको तर्फबाट पनि अन्य सहयोग गर्न तयार छौं। “

नगर उपप्रमुख रावलले मृतक महराका परिवारलाई व्यक्तिगत ५ हजार ५ सय नगद हस्तान्तरण गरिन् । सोही दुर्घटनामा ज्यान गुमाउने बलायरको परिवारलाई समेत व्यक्तिगत ५ हजार ५ सय रकम उपलब्ध गराउने घोषणा गरिन् । त्यस्तै दुवै मृतकका परिवारलाई कृयाखर्च बाफत नगर सरकारका तर्फबाट २५/२५ हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरिन् । उनले परिवारका सदस्यलाई धर्यधारण गर्न अनुरोध गर्दै समवेदना प्रकट गरिन् ।”

दुर्घटनाका मृतक माहराका दुई छोरा, श्रीमती, आमाबुवा र एक भाइ छन् । उनका १५ वर्षीय भाई रोजगारीको शिलसिलामा भारतमा छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.