Sujang

तिज पर्वका अवसरमा सुजङ्ग अस्पताद्धारा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सुरु

पहिलो दिन शिविरमा ८१ जना महिलाहरूले सेवा लिए

भदौ २८ गते , डोटी :पाठेघर सम्बन्धी समस्या भएका महिलाहरूको समस्यालाई मध्यनजर गर्दै तिज पर्वका अवसरमा सुजङ्ग अस्पताल राजपुरले दुई दिने निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ।
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा अस्पतालले बिहीबार र शुक्रवार (दुई दिन) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
पहिलो दिन निःशुल्क शिविरमा ८१ जना पाठेघर सम्बन्धी समस्या भएका महिलाहरूले सेवा लिएको अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
अस्पताल प्रशासन प्रमुख बलायरका अनुसार शिविरमा पाठेघर खसेका ,तल्लो पेट दुख्ने, सेतो गन आउने ,पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, यौैनि चिलाउने ,पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरू शिविरमा चेकजाँच गर्न आएको उनले बताए ।
शिविरमा पहिलो दिन आएका महिलाहरू मध्य ६ जनाको पाठेघरमा मासु पलाएको र पाठेघर खसेको समस्या भएका कारणले अप्रेसन गर्नु पर्ने देखिएको अस्पताल प्रशासन प्रमुख बलायरले बताए ।
उनले भने,‘प्रजनन स्वास्थ्यबारे अहिले पनि कमै खुल्ने गरेका छन् । अहिले पनि ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या विकराल अवस्था रहेको छ । ग्रामीण क्षेत्रका महिलाहरूको समस्यालाई मध्यनजर गर्दै दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । सबैलाई सेवा लिन अनुरोध छ ।’
उपचारका क्रममा महिलाहरूको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर र दुखदायी पाएको डा. सुभाष थापामगरले बताए । उनले भने, ‘सरसफाइको अभाव र अशिक्षाले गर्दा ज्यानै जोखिममा राखेर रोग लुकाएर बस्नु भएको छ ।’
आफूलाई पहिला देखि तल्लो पेट निक्कै दुख्ने गरेकाले निःशुल्क शिविरमा आउँदा समस्या पत्ता लागेको पुर्विचौकि गाउँपालिकाकी पद्मा देवी बोगटीले बताइन् । उनले भनिन्,‘ समयमै समस्या पत्ता लाग्यो । अव छिट्टै समस्या समाधान भएर निको हुने विश्वास छ ।’
दुई दिन सम्म चल्ने शिविरमा डाक्टर एमडी सुभाष थापामगर र एमबिबिएस डाक्टर राजमनि यादव लगायतले उपचार सेवा दिइरहेको बलायरले बताए ।
तिजका अवसर स्थानियतह लगायतले नाच गान र दर खानपानमा बजेट  खर्च गरिरहँदा सुजङ्ग अस्पतालले महिलाहरूको समस्यालाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य शिविर गर्दा शिविरमा सहभागीहरू खुसी व्यक्त गरे ।
शिविरमा डोटी, अछाम र डडेल्धुराका सेवाग्राहीहरुले सेवा लिएको अस्पतालले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.