Sujang

दाउराको छुटपूर्जी दिन घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत पक्राउ

डोटी । निजी आवादी जमीनबाट संकलित दाउराको छुट पूर्जी दिन घुस मागेको आरोपमा एक सहायक वन अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको जोरायल गाउँपालिका(२ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरीलाई घुस लिएको ५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो । गिरीलाई घुस लिदै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।

दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमिनबाट कानूनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि छुटपूर्जी दिन गिरीले १५ हजार घुस मागेका थिए । माग गरेको रकममध्ये १० हजार रुपैयाँ यसअघि नै बुझाइसकेको भण्डारी बताउँछन् ।

‘छुटपुर्जीका लागि पटक पटक आग्रह गर्दा पनि उहाँले दिनु भएन’, भण्डारी भन्छन्, ‘१० हजार त दिइसकेको थिएँ, तर उहाँले सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरी रकम माग गरेपछि आज थप ५ हजार बुझाएको हुँ ।’

नियन्त्रणमा रहेका गिरीसँग सोधपुछ गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिए । अहिले रकम दिने व्यक्तिलाई पनि बोलाईएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने इन्चार्ज साउदले बताए ।

यस विषयमा डिभिजन वन कार्यालय डोटीका सूचना अधिकारी लक्ष्मीराज जोशीलाई सम्पर्क गर्दा आफु धनगढीमा रहेको र घटनाबारे कुनै जानकारी नपाएको बताए । नेपाल पे्रस

Salmuni
Leave A Reply

Your email address will not be published.