Sujang

वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

भक्तराज उपाध्याय ,डोटी :  वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
सोमबार गैर सरकारी संस्था महासंघ नेपाल डोटीको आयोजना तथा जिल्ला समन्वय समितिको सहकार्यमा  जिल्लामा क्रियाशील गै.स.स. तथा दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको आ.व. २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न भएको  हो ।
वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले संस्थाले राम्रो काम गर्दा पनि जस नपाएका कारण आगामी दिनहरूमा सबैसँग समन्वय गरेर कार्यक्रमको निरन्तर अनुगमन गर्नुपर्ने, अनुगमनमा गै.स.स., जिल्ला समन्वय समिति, सम्बन्धित संस्था, पत्रकार, स्थानीय तह र शाखा प्रमुखको सहभागिता हुनुपर्नेमा जोड दिए ।
संस्थाले सरकारका कार्यलाई सहयोग गर्दै आएकाले संस्थाले कार्यक्रमको दिगोपनाका लागि सोच्नुपर्ने अवस्था आएको बताउँदै छाता सङ्गठनका रूपमा रहेको गैसस महासंघ डोटी शाखाले सबै संघ संस्थाको हकहितका लागि अघि बढ्नुपर्ने सिंहले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा विकले कार्यक्रम सञ्चालन गरिरहेका सबै संस्थाको उपस्थिति हुन नसकेकाले गैससले आगामी दिनहरूमा यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने, कार्यक्रमको दोहोरापना हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले आगामी दिनमा विस्तृत छलफल गरेर जानुपर्ने बताइन् ।
स्वागत मन्तव्य गैसस डोटीका सदस्य एकराज बडुले राखेका थिए  ।
गै.स.स. महासंघ डोटी जिल्ला शाखामा आबद्ध ७८ संघ संस्था मध्ये १८ संस्थाहरूले प्रगति समीक्षा सहित आगामी आ.व.को कार्य योजना प्रस्तुत गरेका थिए ।
डोटी जिल्लामा करिब ७२२ संघ संथा दर्ता भएकोमा ४ सय भन्दा बढी संस्था निष्क्रिय रहेको, कतिपय संस्थाले राम्रो काम गरे पनि गुपचुपमा रहेका, दातृ निकायको सहयोग नभएकाले हाल संस्थाहरू सञ्चालन गर्न असहज भएको कार्यक्रमका सहभागीहरूले बताएका थिए ।
गैर सरकारी संस्था महासंघ नेपाल  डोटीका अध्यक्ष लाल बहादुर विकले वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यशालामा उठेका प्रश्नको जवाफ दिँदै कार्यक्रमका सहभागी सबैलाई धन्यवाद ज्ञापन दिँदै  जिल्लाका शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन, जलवायु परिवर्तन, नीति कार्यविधि निर्माणमा क्षमता विकास लगायत  विभिन्न परियोजना सफलतापूर्वक आ.व. २०७९/०८० मा सम्पन्न गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिन अनुरोध गरे।
वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा गैरसरकारी संघ संस्था प्रमुख प्रतिनिधि , दातृ निकायका प्रतिनिधि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.