Sujang

सुदूरपश्चिमकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्नेमा डोटी जिल्ला अदालत

सिलगढी : डोटी जिल्ला अदालतले सुदूरपश्चिम प्रदेशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत दिपायलले सोमबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा डोटी जिल्ला अदालतले ९० दशमलव ९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको सार्वजनिक गरिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा उच्च अदालत दिपायल मातहतका अदालतमा सबैभन्दा बढी डोटी जिल्ला अदालतले मुद्दा फर्छ्यौट गरेको हो ।

डोटी जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयले वार्षिक फर्छ्यौट अनुमान भन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएका छन् । गत आर्थिक वर्षमा एक सय ७० मुद्दा दर्ता भएकोमा एक सय ५४ वटा फर्छ्यौट भएका छन् भने १६ वटा चालु आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएका छन् । जिल्ला अदालत डोटीमा १८ महिना र २ वर्ष पुराना मुद्दाको सङ्ख्या पनि शून्य रहेको छ ।

गत आर्थिक वर्षमा डोटीपछि बैतडी जिल्ला अदालतले ८१ दशमलव २२, डडेलधुरा जिल्ला अदालतले ७७ दशमलव ४१, दार्चुला जिल्ला अदालतले ७६ दशमलव १५, उच्च अदालत दिपायलले ७३ दशमलव २४ र अछाम जिल्ला अदालतले ७१ दशमलव ६७ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् । त्यस्तै बझाङ जिल्ला अदालत ७० दशमलव २५, बाजुरा जिल्ला अदालतले ६६ दशमलव ६६, कैलाली जिल्ला अदालतले ५५ दशमलव १५, कञ्चनपुर जिल्ला अदालतले ५२ दशमलव ०५ र उच्च अदालत महेन्द्रनगर इजलास ५१ दशमलव ९४ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.