

बाजुरा :नेपाली नारीहरूमा केन्द्रित रहने भनिएको नारी टिभी एच डिको बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० सिगाडा बाट उद्घाटन गरिएको छ । बुधवार टिभी प्रसारणको उद्घाटन सिगाडा गाउँकी ८४ वर्षीय नन्दा साउदद्वारा औपचारिक रूपमा दीप बालेर गरिएको हो।
टेलिभिजनको औपचारिक सुरुवात गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नारी टेलिभिजन एचडिकी सञ्चालिका निकिता पौडेल लामिछाने लगायतको टिम बाजुरामा पुगेको छ । टिभी उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै रास्वपाका अध्यक्ष रवि लामिछानेले नारी टेलिभिजन नेपालको दुर्गम ठाउँहरूका महिलाको पिडामा मलम लगाउने माध्यम बन्ने विश्वास व्यक्त गरे ।
नेपाली नारीहरूमा केन्द्रित पहिलो टिभी च्यानल सञ्चालन नेपाली नारीहरूको सशक्त आवाज उठाउन सुरुवात गरिएको सञ्चालिका निकिता पौडेलले बताइन् ।
लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला उद्यमशीलता लगायत क्षेत्रमा टिभीले कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् । कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि लगायत स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।