

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले पाँच वर्ष सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पारेका हुन् ।
‘हाम्रो सबैसँग सकारात्मक छलफल भइरहेको छ । पूर्ण बहुमत कसैसँग छैन, तर सुदूरपश्चिम सरकार पाँच वर्षसम्म निरन्तर चलाउनुपर्छ र टिक्नुपर्छ भन्ने मान्यतामा हामी छौँ,’ मुख्यमन्त्री शाहले भने,‘ सबै दलहरूसँग खुला छलफलको वातावरण निमार्ण गरेका छौँ , हामीलाई विश्वास छ । प्रदेश सरकार पाँच वर्ष निरन्तर चल्छ । प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ भन्ने जस्ता बिचमा विभिन्न कुराहरू उठ्ने गरेका छन् । यी सबै अखबारका कुरा हुन । हामी पाँच यो सरकार अघि बढ्ने सन्दर्भमा ढुक्क छौँ । विश्वस्त छौँ ।’
कसको नेतृत्वमा पाँच वर्ष चल्छ भन्ने पत्रकारको प्रश्नमा उनले संविधानले नै आफूहरूलाई जिम्मेवारी दिएकोले सोही अनुसार अघि बढ्ने बताए ।
‘संविधानतः हामीलाई जिम्मेवारी दिएको छ । यो जिम्मेवारी पूर्ण गर्नको लागि त हाम्रो दायित्व र कर्तव्य छ नि रु त्यसको नेतृत्वको भूमिकामा हामी छौँ । त्यो त प्रस्टै छ ।’
निर्वाचनबाट आफूहरू आएको धेरै नभएकोले अब निर्वाचनमा जाने कुरा बेकार भएकोले जनताको चाहाना विपरीत आफूहरू जान नहुने बताए ।
‘हामी निर्वाचनबाट आएको धेरै भएको छैन । अब निर्वाचनमा जान कुनै सांसदले पनि जान चाहदैनन होला नि त अथवा त्यो जनताले पनि चाहदैनन , जनताको चाहाना विपरीत यदि हामी गयौ भने भोलिका दिनमा जनताले पनि हामीलाई लखेट्दैनन् ,’ उनले भने ।
पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ३० दिन भित्र विश्वासको मत नपाएपछि संविधानको धारा १६८ उपधारा ३ अनुसार काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । तर, उनले केही दिन भित्र विश्वासको मत पाउने दाबी गरेका हुन्।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली काँग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्।
