

फागुन २७ गते ,डोटी : शिक्षा विकास तथा समन्वय इकाइ डोटीले जिल्लाका सबै स्थानीय तहलाई शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार आवश्यक व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुख भीम पनेरूका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य बन्ने व्यक्तिले कम्तीमा पाँच वर्षदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै सामुदायिक विद्यालय पत्राचार गरि सकेको बताए ।
त्यस्तै, प्रधानाध्यापकसम्बन्धी संशोधित व्यवस्थासमेत सोहीअनुसार लागू गर्न निर्देशन दिइएको उनले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई डोटीले जिल्लाका सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई पत्राचार गर्दै संशोधित व्यवस्था अनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशनदिएको छ ।
विद्यालय व्यवस्थापन समितिमा को कोलाई रोक छ ?
सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ ।
गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ ।

‘विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा पाँच वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको,’ संशोधित नियमावलीमा भनिएको छ ।
भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, तोडफोड तथा आगजनी, लागुऔषध बिक्री-वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, अवैध रूपमा वन्यजन्तु ओसारपसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, जातीय भेदभाव तथा छुवाछुत, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन पाउँदैन ।
विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिएकोले पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान नियमावलीमा राखिएको छ ।
संस्थागत विद्यालय वा अन्य शैक्षिक संस्था वा शैक्षिक परामर्श सेवा प्रदायक संस्थामा लगानी भएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । शिक्षक तथा कर्मचारीबाट अवकाश भएको दुई वर्ष पूरा नभएकोले अध्यक्ष र सदस्य भन्न नपाइने प्रावधान नियमावलीमा राखिएको छ ।
व्यवस्थापन समितिको अध्यक्ष छनोट गर्न स्थानीय तहले अभिभावकको भेला बोलाउने प्रावधान राखिएको छ । यसअघि प्रधानाध्यापकले भेला बोलाउने गरिएको थियो ।
अध्यक्ष वा सदस्य छनोट गर्ने सम्बन्धमा अभिभावकहरूलाई सहयोग गर्न स्थानीय तहको शिक्षासम्बन्धी विषय हेर्ने शाखा प्रमुखको संयोजकत्वमा सम्बन्धित वडाले तोकेको वडा सदस्य र सम्बन्धित विद्यालयको प्रधानाध्यापक रहेको तीन सदस्यीय छनोट समिति रहने व्यवस्था राखिएको छ ।
https://drive.google.com/file/d/1eHdNC8HPYOvIw0mC_d6Ij6f-OUqMN5M_/view
