

फागुन ६,धनगढी :विद्यालयस्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सातौँ संस्करणको उपाधि अत्तरियाको लोटस आई इंग्लिस स्कुलले जितेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन अत्तरियाकै सत्यवती एकेडेमीलाई सात विकेटले पराजित गर्यो।
उपाधिसँगै लोटसले दुई लाख ५१ हजार १११ रुपैयाँ हात पारेको छ। उपविजेतामा चित्त बुझाएको सत्यवती एकेडेमीले एक लाख २५ हजार ५२५ रुपैयाँ प्राप्त गर्यो।
सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले तीन विकेट गुमाएर ११.३ ओभरमै पूरा गरेको थियो। लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए।
अविजित रहँदै उनले ३२ बलमा ७ चौका प्रहार गरे। आयुब चन्दले २८ र वीरेन्द्र नाथले १४ रन बनाए। सत्यवतीका बलर गौतम केसी र प्रतीक श्रेष्ठले एक-एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल तयार पारेको थियो।
सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ र सोनु अन्सारीले ११ रन बनाए। उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इमरान र सोनुले ३५ रनको ओपनिङ साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरहरू लामो समय क्रिजमा जम्न सकेनन्।
लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले चार-चार विकेट लिए । प्लेयर अफ दी म्याच घोषित साउदले चार ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए। हिक्मत महरा र सुवास रावलले एक-एक विकेट लिए।
प्रतियोगिताको प्लेयर अफ दी सिरिज लोटस आईका आयुब चन्द २० हजार नगद पुरस्कार प्राप्त गरे। उनले पाँच खेलमा एक सय ७९ रन र पाँच विकेट लिएका थिए।
बेस्ट ब्याट्सम्यान लोटसका योगेश भाट क्षेत्री र बेस्ट बलर लोटसकै सन्तोष चुनिए। उनीहरूले जनही १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उदीयमान खेलाडी चुनिएका लिटल फ्लावरका सुबोध तिवारीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे।
विजेता खेलाडीहरूलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बीरबहादुर बलायरले ट्रफी हस्तान्तरण गरेका थिए।
माघ २१ गते देखि फागुन ६ गतेसम्म लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सले विद्यालयस्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सातौँ संस्करण प्रतियोगिताको आयोजना गरेको अध्यक्ष रामचन्द्र शाही बताए ।
