दार्चुला, भदौ ,२५ -दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गए राति परेको अविरल वर्षाले जिल्लाको नौगाड गाउँपालिका–२ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली– ३ की मानमती कार्की, महाकाली– २ का नन्दराम बोहरा, नौगाड–२ का मोहनराम पार्की, नौगाड १ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर चार जनाको र बाढीले बगाएर एक जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा अझै सात जना बेपत्ता छन् ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार र बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन् ।
महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएको छ । महाकालीमा आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् ।
प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै निर्माणाधीन पक्की पुलमा समेत क्षति पुगेको छ ।