पुस २२ गते ,डोटी :सुदुर पश्चिमका विभिन्न जिल्लामा कालाजार रोगका ३८ जना बिरामी भेटिएका छन् ।
आइतबार राजपुरमा स्वास्थ्य सेवा विभाग, इपिडेमोलोजी रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य सङ्गठन ,जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्रको आयोजनामा स्वास्थ्य कर्मीका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
सन् २०२० देखि ०२४ सम्मको तथ्यांक सार्वजनिक हुँदा सुदूर पश्चिममा सन् २०२० मा २५ जना ,०२१ मा ३५ सन् २०२२मा ४५ जना सन् २०२३ मा ४० जना र सन् २०२४ मा ३८ जनामा कालाजरका बिरामी भेटिएका किट जन्य रोग शाखा इपिडिमियाेलाेजि रोग नियन्त्रण महाशाखा शाखा प्रमुख डा.गोकर्ण दाहालले बताए ।
त्यस्तै सन् २०२४ मा ( Visceral Leishmaniasis )कालाजारका बिरामी कैलालीमा ११ जना , कञ्चनपुरमा ३ जना, बाजुरामा २ जना, बझाङमा २ जना, बैतडीमा ३ जना , अछाममा २ जना, दार्चुला २ जना र डोटीमा ६ जना भेटिएका दाहालले बताए । त्यस्तै छाला सम्बन्धी कालाजारका बिरामी ( cutance Leishmaniasis) बैतडीमा २ जना , डोटीमा १ जना र कैलाली ४ जना देखिएको बताए ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ३ जना,पूर्वी चौकी गाउँपालिकामा २ जना, आदर्श र शिखर १/१ जना कालाजारका बिरामी भेटिएका स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग भएको डा.दाहालले बताए । उनले भने,’ रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि छ महिनाभित्र देखिने गरेको छ।’
उनले थपे ,’ जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई यो रोग लाग्न सक्छ । रोग पत्ता लागेर चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरेमा सत प्रतिशत निको हुन्छ ।’
कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्त अल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरू देखा पर्ने डाक्टर दाहालले बताए ।
यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने उनको भनाई छ।
छालामा पनि कालाजार रोग भेटिएको अनुसन्धान कर्ता तथा नेपालगन्ज मेडिकल कलेज सह प्राध्यापक डाक्टर प्रज्ञा गौतम घिमिरेले बताइन् । दस वर्षको लामो अनुसन्धान पश्चात् नेपालमा पनि छालाको कालाजार रोग छ भन्ने आफूले पत्ता लगाउन सफल भएको उनले बताइन् । छाला समस्या देखिएमा, निरन्तर खटिरा आएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गर्न अनुरोध गरिन् । छालाको समस्यालाई अझै बृहत् रूपमा अनुसन्धान गर्न आवश्यक रहेको कुरामा उनले जोड दिइन् ।
कालाजार रोग नियन्त्रणमा सबैको साथ सहयोगले मात्र निवारण गर्न सकिने स्वास्थ्य निर्देशनालय राजपुर दिपायलका स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए । स्थानीय सरकारले विशेष प्राथमिकताका साथ रोग नियन्त्रणमा जोड दिनुपर्ने उनले बताए ।
रोग नियन्त्रणका लागी दक्ष जनशक्तिको अभाव समेत रहेको उनले बताए ।
कालाजार रोगका बारेमा सचेतनाका कार्यक्रमलाई अगाडी बढाउनु पर्ने नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले बताए । जिल्लाका ग्रामीण बस्ती बस्ती सम्म पुगेर अभियानका साथ अगाडी वढेमा मात्र रोग निवारण हुन सक्ने उनले बताए ।
कालाजार रोगका बारेमा किट जन्य रोग शाखा इपिडिमियाेलाेजि रोग नियन्त्रण महाशाखा शाखा प्रमुख डा. दाहाल,जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डाक्टर आनन्द वल्लभ जोशी,नेपालगन्ज मेडिकल कलेज सह प्राध्यापक डाक्टर प्रज्ञा गौतम घिमिरे,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ईन्टाेमाेलाेजिष्ट डाक्टर ललिता रायले रोगका बारेमा प्रस्तुति राखेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय डोटी र स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा गरिएको अभिमुखी करण कार्यक्रममा डोटी ९ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो ।