Sujang

डोटीमा तीन दिने प्रदेश स्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गाेष्ठी शुरु

Ban

सुबास नेपाली, मंसिर ४ डोटी : सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्ने उद्देश्यले डोटीमा प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी सञ्चालन भइरहेको छ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको हो।

Krishi

मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने गोष्ठी स्वास्थ्य निर्देशनालयको सभा हल, राजपुर डोटीमा भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिनुभयो।
तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशको समग्र स्वास्थ्य अवस्थाको प्रस्तुतीकरण, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रगति समीक्षा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विषयमा छलफल भइरहेको छ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र तथा सम्बन्धित स्वास्थ्य निकायका प्रतिनिधिहरूले जिल्लागत रूपमा स्वास्थ्य कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिने पनि निर्देशक बमले जानकारी दिनुभयो ।
कार्यक्रममा डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी, कैलाली, कञ्चनपुर र दार्चुलाका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपलब्धि, चुनौती तथा समस्याबारे समीक्षा गरिनेछ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिबाट स्वास्थ्य क्षेत्रमा विकास साझेदारको भूमिकाबारे प्रस्तुतीकरण, प्रदेशस्तरीय निकायहरूको जवाफदेहिता तथा प्रश्नोत्तर सत्र र सामाजिक विकास मन्त्रालयबाट प्रस्तुतीकरण तथा छलफल हुने कार्यक्रम रहेको छ।
गोष्ठीको अन्तिम दिन प्रदेश स्वास्थ्य निकायहरूको आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक तथा सम्मान कार्यक्रमसहित समापन गरिने कार्यतालिका रहेको छ।

गोष्ठी स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. खगेन्द्रबहादुर बमको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो। जिल्ला समन्वय समिति डोटीका समन्वय प्रमुख लक्ष्मणबहादुर सिंहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी सचिव सङ्गीता ओझा, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी बन्दना भट्ट, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका हेमराज जोशी, स्वास्थ्य सेवा विभागका कृष्णराज तिवारी तथा विश्व स्वास्थ्य संगठनका विकास साझेदार प्रतिनिधि अरुण जोशीलगायतको आतिथ्यता रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.