

मंसिर ६ गते, डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा प्रदेशभरिका अस्पतालमध्ये डोटी अस्पताल उत्कृष्ट घोषित भएको हो ।

स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड (MSS) मूल्यांकनका सूचकका आधारमा प्रदेशभरिका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल डोटी प्रथम भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिए ।
प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएपछि जिल्ला अस्पताल डोटीका अध्यक्ष भरत बोहराले आगामी दिनमा अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने र हरेक वर्ष उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्य रहेको बताए ।
त्यसै गरी मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल दोस्रो र बैतडी जिल्ला अस्पताल तेस्रो भएको छ।

प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट हुने तीन वटै अस्पताललाई सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेकी हुन् ।
