

भदौ २९, डोटी : जेन–जी समूह डोटीले दिपायल सिलगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सोमबार विभिन्न माग राख्दै तालाबन्दी गरेको छ।
जेन–जी समूहले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीलाई बुझाएको पत्रमा शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा देखिएका समस्या समाधान गर्न पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाएको छ।

समूहले निजी तथा सामुदायिक विद्यालयमा शैक्षिक मनमानी, गैरकानुनी शुल्क असुली, स्वीकृत शैक्षिक मापदण्डविपरीतका गतिविधि, अनधिकृत पठनपाठन तथा बिदा व्यवस्थापन लगायतका विषयमा प्रश्न उठाएको छ। साथै शिक्षा शाखाको नियमित अनुगमन तथा नियमन प्रभावकारी नभएको आरोप लगाएको छ।

जेन–जी समूहले शिक्षा शाखासँग मुख्यतः चार विषयमा जवाफ मागेको छ। जसमा गैरकानुनी शुल्क असुली नियन्त्रण, अनधिकृत पठनपाठन तथा बिदा व्यवस्थापन, सामुदायिक विद्यालयको गुणस्तर तथा दिवा खाजा कार्यक्रमको प्रभावकारी अनुगमन र १० प्रतिशत छात्रवृत्ति वितरणमा पारदर्शिता रहेका छन्।
समूहले विद्यालयले विद्यार्थीबाट गैरकानुनी शुल्क असुल गरिरहेको अवस्थामा शिक्षा शाखाले प्रभावकारी अनुगमन तथा कारबाही किन गर्न नसकेको भन्ने प्रश्न गरेको छ। त्यस्तै, नगरपालिका तथा सरकारबाट घोषित सार्वजनिक बिदाका दिनसमेत विद्यालय सञ्चालन तथा पठनपाठन हुने गरेको भन्दै त्यसलाई नियमन गर्न माग गरेको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा दिवा खाजा कार्यक्रमको नियमित स्थलगत अनुगमन गर्नुपर्ने र अनुगमनबाट प्राप्त निष्कर्ष तथा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि समूहले अघि सारेको छ। छात्रवृत्ति वितरणमा समेत छनोटको मापदण्ड, प्रक्रिया र लाभान्वित विद्यार्थीको नामावली सार्वजनिक गर्न माग गरिएको छ।
जेन जि समूह डोटीका अंकित श्रेष्ठ लिखित प्रतिबद्धता नभएसम्म तालाबन्दी जारी रहने बताए । जेन–जी समूहले आफ्ना माग सम्बोधनका लागि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखासँग लिखित प्रतिबद्धता र सम्झौता गर्न माग गरेको उनले बताए । सार्वजनिक बिदाको एकरूप कार्यान्वयन, अनाधिकृत कक्षा सञ्चालन गर्ने संस्थामाथि कानुनी कारबाही, नियमित अनुगमन तथा छात्रवृत्ति वितरणमा पूर्ण पारदर्शिता कायम गर्नुपर्ने माग गरिएको उनले बताए ।
समूहले आफूहरू वार्ता, संवाद र सहकार्यबाट समस्या समाधान गर्न सकारात्मक रहेको जनाएको छ।
तालाबन्दी पछि बोल्दै दिपायल सिगलढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दामोदर भण्डारीले तालाबन्दीबाट नभएर सम्बाद र वार्ताबाट समाधान खोज्न सकिने बताए । शिक्षा शाखा प्रमुख र नगर प्रमुख आए भन्यो जेनजी समुहले राखेका मागका बारेमा बैठक बसेर दीर्घकालिन समाधान खोजिने उनले बताए ।
