Sujang

९५ लाखको योजना, विवादित मूर्ति : देहिमाण्डौमा प्रदेशको बजेटमाथि उठ्यो प्रश्न

Ban

प्रकाश बम,भदौ २८,डोटी : डोटीको आदर्श गाउँपालिका–४ देहिमाण्डौस्थित दुर्गा माता मन्दिर परिसरमा प्रदेश सरकारको लगानीमा निर्माण गरिएको मूर्तिको स्वरूपलाई लिएर सामाजिक सञ्जालमा विरोध र आलोचना बढेको छ। स्थानीय तथा सरोकारवालाले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मन्दिर परिसरमा निर्माण गरिएको मूर्ति सम्झौताअनुसार नबनेको भन्दै प्रश्न उठाएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको सांसद विकास कोषबाट विनियोजित बजेटअन्तर्गत ‘देहिमाण्डौ दुर्गा माता पर्यटकीय पूर्वाधार विकास निर्माण योजना’ सञ्चालन गरिएको हो।
उपभोक्ता निर्माण समितिका सचिव तथा दुर्गामाता संरक्षण विकास समितिका अध्यक्ष सन्तोष बोहराका अनुसार ९५ लाख रुपैयाँको लागत अनुमान रहेको उक्त योजना करिब एक वर्ष लगाएर निर्माण गरिएको बताए। हालसम्म मूर्ति निर्माणमा करिब ७८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

उनका अनुसार क्रमागत योजनाअन्तर्गत पहिलो किस्तामा ५० लाख र दोस्रो किस्तामा ४५ लाख रुपैयाँ निकासा भएको थियो। समितिको खातामा रकम निकासा भए पनि मूर्ति निर्माणलगायतका कामप्रति विवाद भएपछि करिब १६/१७ लाख रुपैयाँ रोक्का राखिएको बोहराले बताए। बाँकी रकम काम सम्पन्न भएपछि मात्र पालिकाले भुक्तानी दिने निर्णय गरेको उनले बताए ।

मन्दिर परिसरमा २०८२ साल वैशाखदेखि मूर्ति निर्माण सुरु गरिएको थियो। निर्माणका क्रममा पहिलो पटक बनाइएको मूर्ति स्वरूपअनुसार नभएपछि तोडफोड गरी पुनः निर्माण गरिएको निर्माण समितिले जनाएको छ। तर दोस्रो पटक निर्माण गरिएको मूर्ति पनि स्थानीयको अपेक्षा तथा सम्झौताअनुसार नबनेको भन्दै अहिले विरोध भइरहेको छ।

धनगढीमा बसोबास गर्दै आएका मूर्तिकार राजकुमार शाहले सम्झौता अनुसार उक्त मूर्ति निर्माणमा एक वर्ष दुई महिना समय लागेको बताए। पहिलो पटक निर्माण गर्दा नमिलेपछि पुनः निर्माण गरिएको र दोस्रो पटक पनि अपेक्षित स्वरूप दिन नसकिएको उनले स्वीकार गरे।

Krishi

शाहका अनुसार मूर्ति निर्माणबापत हालसम्म आफूले करिब १९ लाख रुपैयाँ प्राप्त बताए । उक्त रकम आफूले काममा लगाएका २१ जना मजदुर र ८ जना मिस्त्रीलाई दिएको बताए। अझै ८/९ लाख रुपैयाँ लिन बाँकी रहेको उनको भनाइ छ। स्थानीयले भनेअनुसार मूर्तिलाई स्वरूप दिन नसकेको पनि उनले स्वीकार गरेका छन्।

योजनाको प्राविधिक पक्षबारे आदर्श गाउँपालिकाका सब–इन्जिनियर डम्बर ओझालाई बुझ्दा स्टेटमेन्टअनुसार अन्य काम निर्माण भएको भए पनि बाघ र दुर्गा माताको मूर्ति भने सम्झौता अनुसार नबनेको बताए। सम्झौताअनुसार काम नभएकाले करिब १५/१६ लाख रुपैयाँ रोक्का गरिएको उनले जानकारी दिए।
‘काम सम्पन्न नभएसम्म बाँकी रकम भुक्तानी नगर्ने’ निर्णय पालिकाले गरिएको ओझाले बताए।

यस विषयमा उपभोक्ता समितिका अध्यक्ष नारायण पछेरालाई सम्पर्क गर्न खोज्दा मोबाईल स्विच रहेकोे थियो ।

शिक्षक तथा पर्यटक प्रवर्द्धक हिक्मत शाहीले सामाजिक सञ्जालमा मूर्तिको तस्बिर सार्वजनिक गर्दै धार्मिक सम्पदाको मौलिकता संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले धार्मिक सम्पदाको नाममा बजेट दुरुपयोग हुन नदिन स्थानीय स्तरबाटै प्रश्न उठाउनुपर्ने बताएका छन्।
शाहीले धार्मिक सम्पदालाई विकास निर्माणको नाममा मौलिकता गुमाउने गरी निर्माण गर्न नहुने भन्दै स्थानीयलाई सचेत र जागरूक हुन आग्रह गरेका छन्।

स्थानीयवासीले पनि विकासका नाममा आएको ठुलो बजेटबाट निर्माण हुने संरचना गुणस्तरीय, आकर्षक र धार्मिक तथा सांस्कृतिक मौलिकता अनुकूल हुनुपर्ने बताएका छन्। उनीहरूले सार्वजनिक बजेट खर्च गर्दा योजना छनोटदेखि डिजाइन,निर्माण र अनुगमनसम्मका प्रक्रिया प्रभावकारी हुनुपर्ने माग गरेका छन्।

९५ लाख रुपैयाँको लागत अनुमान रहेको योजनामा ठुलो रकम खर्च भइसकेपछि पनि मुख्य संरचनामध्ये मूर्तिको स्वरूपमै प्रश्न उठेपछि योजना निर्माण, डिजाइन स्वीकृति, प्राविधिक अनुगमन, खर्च विवरण र निर्माणको गुणस्तरबारे थप प्रश्न खडा भएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.