Sujang

हाम्रो तिहार

Ban

डिल बहादुर महरा                                         शीर्षक : “हाम्रो तिहार”
छन्द :शार्दूलविक्रीडित                                                       ।१।                                                             बेला शान्त सफा शरद् मधुमयी,धर्ती उज्यालो खुबै ।
नाच्दैछन् तरु पल्लवी सुरसता,छन् दृश्य प्यारा सबै ।।
चारौँतर्फ सुगन्धयुक्त नगमा,आस्वाद बेग्लै अरू ।
पुष्पोद्यान भरी जुही मखमली,फुल्दा चमेलीहरू ।।
।२।
वस्ती गाउँ बजार ती शहरमा,बर्षा छ उल्लासको ।
हेर्छन् आँगनमा शशी र सविता,पूजा चतुर्मासको ।।
भर्छन् दीपकले बडो झिलिमिली,भित्ता र कौसी भरी ।
द्यौसीका स्वर गुञ्जिँदा सकलमा,देखिन्छ स्वर्गै सरी ।।
।३।
नौला अन्न फले सुधा सरहका,बोकी रसास्वादन ।
पाक्छन् मिष्ठ तमाम खाद्य घरमा,स्वादिष्ट छन् भोजन ।।
देख्दा दङ्ग सुरङ्ग साथ छ सुभा,माला हजारौँ थरी ।
देख्छौँ हर्षित श्वान काग पनि ता,झन् गोरु गाई भरी ।।
।४।
उन्दैछिन् गजरा दिदी र बहिनी,टीका लिई साथमा ।
पर्खिन्छन् पथ दाजुभाइ सँगमा,आनन्द संवादमा ।।
छैनन् फुर्सदमा जहान घरका,छन् व्यस्त सम्भारमा ।
रम्छन् भाइतिहारमा सुखदमा,तल्लीन सृङ्गारमा ।।
।५।
माटो फुल्छ सुवास चल्छ रसिलो,आकाश हेरीकन ।
बन्दै कोमल हाँस्दछन् रहरमा,ढुङ्गाहरूका मन ।।
लक्ष्मी पूजनमा खुला हृदयमा,खुल्छन् धरा माझमा ।
गर्छन् अन्तर प्रार्थना सब जना,आराधना साँझमा ।।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.