

माघ ८, डोटी : जिल्ला स्तरीय माध्यमिक तह विज्ञान प्रदर्शनी प्रतियोगितामा केदारेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ। पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढीको ७८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा शिखर नगरपालिका–१ मा अवस्थित केदारेश्वर माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।
प्रथम स्थान हासिल गर्दै केदारेश्वर माध्यमिक विद्यालयले रु. १२ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा भागरथी एकेडेमी, सिलगढी द्वितीय भएको छ भने आयोजक पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय र दिल्पेश्वर माध्यमिक विद्यालय, दिपायल समान अंक प्राप्त गरेपछि संयुक्त रूपमा तृतीय भएका छन्। दुर्गा माध्यमिक विद्यालय, पाकरीले चौथो स्थान हासिल गरेको छ।
द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने विद्यालयहरूले क्रमशः रु. ८ हजार, रु. ४ हजार र रु. २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
विज्ञान तथा प्रविधि तीव्र रूपमा विकसित भइरहेको वर्तमान समयमा विद्यार्थीहरूलाई विज्ञानप्रति आकर्षित गर्न तथा उनीहरूको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए। विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमअन्तर्गत बिहीबार विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।

