
सभापति देउवा माथिको आक्रमणप्रति पार्टीभित्र सहानुभूति देखिएन:मुख्यमन्त्री शाह
जनमतबाट नेतृत्व आउन सुझाब


कार्तिक २६ गते,अछाम:सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नेपाली कांग्रेस अछामले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुभएको छ।
मंगलबार अछाम पुग्नुभएका मुख्यमन्त्री शाह हाल प्रदेशका विभिन्न जिल्लामा पुगेर पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुँदै हुनुहुन्छ।
सम्बोधनका क्रममा मुख्यमन्त्री शाहले मानवसेवामूलक भावना रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “जेन्जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा माथि साँघातिक आक्रमण हुँदा पनि पार्टीको कार्यसम्पादन बैठकमा न सहानुभूति प्रकट गरियो, न त उहाँको शीघ्र स्वास्थ्यलाभको कामना नै गरियो। पार्टी सभापति माथिको आक्रमणप्रति दुःख प्रकट गर्न नसक्नु के हामी मानवीयता हराइसकेका हौँ त?”
मुख्यमन्त्री शाहले हस्ताक्षर अभियान चलाएर नेतृत्वमा पुग्न खोज्ने प्रवृत्ति प्रति पनि संकेत गर्दै, पार्टी नेतृत्व जनताको जनमत र कांग्रेसको आन्तरिक जनमतबाट आउनुपर्ने बताउनुभयो।
उहाँले पार्टीले अब ढिलाइ नगरी महासमिति बैठक आह्वान गरी सैद्धान्तिक र वैचारिक बहसमार्फत नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण तय गर्नुपर्नेमा जोड दिनुभयो।

