

भदौ ६ गते : स्वच्छ सफा नेपाल (Clean Up Nepal) द्वारा आयोजित “फोहोरमैलाबाट चक्रीय अर्थतन्त्र” सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम नयाँबानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा २० जना महिला सहित ५२ जनाको सहभागिता रहेको थियो, जसमा संघीय सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरू, सरकारी अधिकारी, निजी क्षेत्र, फोहोर संकलन कम्पनी, पत्रकार र अन्य सरोकारवालाहरू उपस्थित थिए।
कार्यक्रम स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लमिछानेको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन प्रेम प्रकाश नेपालीले गर्नुभयो। प्रतिनिधिसभाका सांसद मैना कार्की, निर्मला कोइराला, सरस्वती सुब्बा र माधव सापकोटा विशेष आतिथ्य रूपमा सहभागी थिए।
संवादमा डा. ढुण्डीराज पाठकले “चक्रीय अर्थतन्त्र निर्माणमा फोहोरमैला व्यवस्थापनको भूमिका” विषयमा अन्तर्राष्ट्रिय अनुभव सहित कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस्तै, शहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर महेश बहादुर सिंहले नेपाल सरकारको नीति, योजना, चुनौती र समाधानबारे जानकारी दिनुभयो।
कार्यक्रमले पाँचवटा मुख्य निष्कर्ष र छवटा ठूला प्रतिबद्धता सहित सम्पन्न भएको छ। सहभागीहरूले फोहोरमैला व्यवस्थापनमा चक्रीय अर्थतन्त्रको सम्भावना औंल्याउँदै नयाँ ऐन र नीतिमा बहस गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मुख्य निष्कर्षहरूमध्ये केही:
फोहोर एक गम्भीर स्वास्थ्य तथा वातावरणीय समस्या बन्दै गएको छ।
वर्तमान कानुनहरू संघीय संरचना अनुसार परिमार्जन गर्नु आवश्यक छ।
फोहोर व्यवस्थापनमा निजी क्षेत्र, समुदाय र संघसंस्थाको भूमिका स्पष्ट पारिनुपर्छ।

फोहोरबाट चक्रीय अर्थतन्त्र निर्माण गर्न कानुनी तथा नीतिगत पहल जरुरी छ।
Extended Producer Responsibility (EPR) नीति सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ।
प्रमुख प्रतिबद्धताहरूमा:
चक्रीय अर्थतन्त्रमा आधारित ऐन र नियमावली निर्माण तथा संशोधन,
फोहोर न्यूनीकरण, पुन: प्रयोग, पुन: उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन,
जैविक रूपमा सजिलै गल्ने सामग्रीको प्रयोग प्रवर्धन,
स्थानीय तहको भूमिका सुदृढ गर्न नीतिगत स्पष्टता र स्रोत व्यवस्थापनमा जोड,
चक्रीय र हरित अर्थतन्त्रलाई सबै तहमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाइएको छ।
उक्त कार्यक्रम स्वीडेनको विकास साझेदार IM Swedish Development Partner को आर्थिक सहयोगमा सम्पन्न भएको हो।

