
सुदूरपश्चिममा उच्च शिक्षाको नयाँ अध्याय: सोफान कलेजमा काठमाडौं विश्वविद्यालयका BIT र BSW कार्यक्रम सञ्चालन

जेठ २७ गते ,धनगढी: सुदूरपश्चिम प्रदेशको उच्च शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। अब काठमाडौं विश्वविद्यालयका स्नातक तहका Bachelor in Information Technology (BIT) र Bachelor in Social Work (BSW) कार्यक्रम धनगढीमै अध्ययन गर्न सकिने भएको छ।
धनगढी–चटकपुरस्थित सोफान कलेज मा काठमाडौं विश्वविद्यालयका यी दुई कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएका हुन्। यससँगै सुदूरपश्चिमका विद्यार्थीहरूले आफ्नै प्रदेशमा बसेर अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरयुक्त तथा रोजगार एवं स्वरोजगारमुखी शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।
सोफान कलेजका अध्यक्ष तथा युवा उद्यमी शैलेश कुमार सिंह ले कलेज गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीलाई आधुनिक ज्ञान, सीप र व्यावसायिक दक्षतासँग जोड्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

कलेजका क्याम्पस प्रमुख रामचन्द्र शाही ले काठमाडौं विश्वविद्यालय शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय अभ्यासमा आधारित शिक्षाका लागि विश्वभर परिचित रहेको उल्लेख गर्दै यसको कार्यक्रम धनगढीमा सञ्चालन हुनु सुदूरपश्चिमको शैक्षिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
उहाँले सूचना प्रविधि क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको वर्तमान सन्दर्भमा BIT कार्यक्रमले दक्ष, सिर्जनशील तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै BSW कार्यक्रमले नेतृत्व विकास, समुदाय सशक्तीकरण, सामाजिक न्याय तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विगतमा गुणस्तरीय उच्च शिक्षाका लागि काठमाडौं तथा अन्य प्रमुख शहरहरूमा जान बाध्य रहेका सुदूरपश्चिमका विद्यार्थीहरूका लागि आफ्नै प्रदेशमा काठमाडौं विश्वविद्यालयको अवसर उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ। यसबाट विद्यार्थी तथा अभिभावकमाथिको आर्थिक भार कम हुनुका साथै प्रदेशमै शैक्षिक वातावरण सुदृढ हुने विश्वास गरिएको छ।
सोफान कलेजले आधुनिक शैक्षिक पूर्वाधार, प्रविधिमैत्री सिकाइ वातावरण, अनुभवी तथा योग्य प्राध्यापक, अनुसन्धानमुखी शिक्षण पद्धति र विद्यार्थी–केन्द्रित अभ्यासमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कलेजले स्थानीय आवश्यकता र विश्वव्यापी अवसरबीच पुलको भूमिका निर्वाह गर्दै दक्ष, जिम्मेवार, सिर्जनशील तथा रोजगारमुखी जनशक्ति उत्पादनमा जोड दिने जनाएको छ।

