Sujang

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार मल्लको निधन

Ban

श्रावण ४,डोटी : डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्वशिक्षक धनबहादुर मल्लको सोमबार बिहान निधन भएको छ। उनी करिब ९० वर्षका थिए।

दिपायल सिलगढी नगरपालिका–६, सिलगढी निवासी मल्लको सोमबार बिहान करिब ५:३० बजे आफ्नै निवासमा निधन भएको हो। उनका जेठा छोरा योगेश मल्लका अनुसार आइतबारसम्म उनी सामान्य अवस्थामा रहेका थिए। कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिएको अवस्थामा सोमबार बिहान एक्कासि उनको निधन भएको हो।

वि.सं. १९९४ साल भदौ ५ गते बुबा मानबहादुर मल्ल र आमा मानकुमारी मल्लको कोखबाट जन्मिएका मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका अग्रदूतका रूपमा चिनिन्छ। उनले वि.सं. २०१६ सालमा ‘सगरमाथा’ का लागि डोटी समाचारदाताका रूपमा पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस) का डोटी समाचारदाताका रूपमा लामो समय कार्यरत रहे।

Krishi

पत्रकारितासँगै साहित्य, नाटक, गीत–संगीत र ललितकलामा पनि उनको उल्लेखनीय योगदान रहेको छ। उनले ‘जय दुर्गे’, ‘ध्रुव’, ‘सत्यमेव जयते’, ‘शैलेश्वरी महात्म्य’, ‘भरत मिलाप’, ‘अदृश्य हात’, ‘भविष्य बोल्छ वर्तमान’, ‘आमाको मन’, ‘भलाइ’, ‘आमा’, ‘मिलाप’, ‘परिवार’, ‘जागरण’, ‘दायित्व’, ‘जाँगर’, ‘बिलौना’, ‘नारी जागरण’, ‘परिवर्तन’, ‘गाउँबेंसी’ र ‘सौतेली आमा’ लगायत दर्जनौँ नाटकको लेखन तथा निर्देशन गरेका थिए। गीत लेखन र गायनमा समेत उनको सक्रिय योगदान रहेको थियो।

प्रसिद्ध शैलेश्वरी मन्दिर परिसरमा रहेका अधिकांश कुँदिएका तथा निर्माण गरिएका मूर्तिहरू पनि मल्लकै सिर्जना मानिन्छन्। उनी २००४ सालमा स्थापना भएको डोटीको पुरानो शैक्षिक संस्था पद्म पब्लिक माध्यमिक विद्यालयका पूर्व शिक्षकसमेत थिए।

साहित्य, पत्रकारिता, कला र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनले सर्वनाम पुरस्कार (२०५०), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), रासस प्रशंसापत्र (२०६०), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान (२०६७), रासस सम्मान (२०६८), नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कदरपत्र (२०७०), सुदूरपश्चिम साहित्य समाज प्रतिभाश्री सम्मान (२०६९), नेपाल लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठी अभिनन्दन (२०७०) तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अभिनन्दन (२०७३) सहित दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए।

धनबहादुर मल्लको निधनसँगै डोटीले पत्रकारिता, साहित्य, कला र शिक्षाका एक बहुआयामिक व्यक्तित्व गुमाएको छ। उनका सिर्जना, कला र योगदानले आगामी पुस्तालाई प्रेरणा दिइरहने विश्वास गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.