

बैशाख ११ गते ,डोटी : डोटी जिल्लामा जिल्ला स्तरिय बाल सञ्जाल गठन गरिएको छ। सञ्जालको अध्यक्षमा शिखर नगरपालिकाकी अस्मिता बलायर चयन भएकी छन्।
सञ्जालको उपाध्यक्षमा आदर्श गाउँपालिकाका तपराज भट्ट, सचिवमा दिपायल सिलगढी नगरपालिकाकी जानकी नेपाल, सह–सचिवमा बोगटान फुड्सिल गाउँपालिकाका विक्रा वि.क. र कोषाध्यक्षमा पूर्वीचौकी गाउँपालिकाकी सेती कुमारी भुल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा जोरायल गाउँपालिकाकी आशा कुमारी मल्ल र पूर्णिमा दर्लामी मगर, बडिकेदार गाउँपालिकाकी सिर्जना सार्की, के.आई. सिंह गाउँपालिकाका चेतन मल्ल तथा सायल गाउँपालिकाकी मिना साँउदा र सिर्जना वि.क. चयन भएका छन्।
सामाजिक विकास कार्यालय डोटीको आयोजना तथा डोटीमा कार्यरत गैरसरकारी संस्थाहरु सामुदायिक विकास केन्द्र, सेभ द चिल्ड्रेन, गुड नेवर्स, वर्ल्ड भिजन र सिड नेपालको सहयोगमा भेला सम्पन्न भएको हो।
भेलाले ६ बुँदे घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, बाल विवाह तथा बाल श्रम अन्त्य गर्ने, स्वास्थ्य सेवामा पहुँच बढाउने, बाल हिंसामुक्त वातावरण निर्माण गर्ने, बालमैत्री पूर्वाधार विकास गर्ने र बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने माग समेटिएको छ।
उक्त घोषणापत्रमार्फत नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, डोटी जिल्लाका स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, अभिभावक तथा सरोकारवाला सबैलाई यी विषयलाई गम्भीरतापूर्वक लिएर आगामी बजेट तथा कार्यक्रममा समावेश गर्न आग्रह गरिएको छ।
भेलामा डोटी जिल्लाका ९ वटै स्थानीय तहका बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ।
नयाँ समिति चयन भए संगै बाल संजाल डोटीका निवर्तमान अध्यक्षमा सपना मलासिले आफूलाई कुनै जानकारी नगराई बाल संजाल गठन गरिएको भन्दै आपत्ति जनाएकि छन् ।
यस बारेमा बुझ्दा सामाजिक विकास कार्यालय डोटीका प्रमुख राधाकृष्ण जोशीले नियमानुसार नै बाल संजाल गठन गरिएको बताए ।

