

चैत ८ गते ,डोटी : डोटीमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा आइतबार सरोकारवाला निकायहरूसँग बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा बढ्दो लागुऔषध प्रयोगलाई नियन्त्रण गर्न यही चैत महिनादेखि जेठसम्म तीन चरणमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
उनका अनुसार पहिलो चरणमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत समुदायमा अन्तरक्रिया, विद्यालयमा लागुऔषध रोकथाम सम्बन्धी कक्षा, हस्ताक्षर अभियान तथा सहायता कक्ष स्थापना गरिनेछ।
दोस्रो चरणमा लागुऔषध सम्बन्धी कसुरमा कानुनी कारवाहीलाई कडाइ गरिनेछ भने तेस्रो चरणमा दुर्व्यसनीहरूको पुनःस्थापना र सामुदायिक सहयोगमा जोड दिइनेछ।

बैठकले जिल्लाका विभिन्न क्षेत्रमा बढ्दो लागुऔषध कारोबार र प्रयोगलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूलाई उच्च निगरानीमा राख्ने निर्णय गरेको छ। साथै, अवैध मदिरा तथा लागुऔषधको बिक्री–वितरण र सेवन नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइ नियमित अनुगमन, निरीक्षण तथा चेकजाँच कडाइ गरिने जनाएको छ।
त्यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउने र स्थानीय तहसँग सहकार्य गर्दै विद्यालय, क्याम्पस तथा समुदायमा युवालक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
बैठकले डायजेपाम, प्रिगाभालिन र ट्रामाडोलजस्ता औषधिको दुरुपयोग रोक्न बिक्री–वितरणमा कडाइ गर्ने निर्णय गरेको छ।
त्यस्तै अब देखि औषधि वैध चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री गर्न पाइने छैन भने सबै मेडिकल तथा फार्मेसीहरूले अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने बैठकले निर्णय गरेको छ।
यसका साथै सीमा नाका तथा सम्भावित जोखिम क्षेत्रहरूमा आकस्मिक निरीक्षण गर्ने, ट्राफिक प्रहरीले लागुऔषध सेवनकर्ताको पहिचानका लागि चेकजाँच कडाइ गर्ने र आवश्यक सामग्री स्वास्थ्य कार्यालयमार्फत उपलब्ध गराउने निर्णय गरिएको छ।
बैठकमा सहभागी सरोकारवालाहरूले अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


