

चैत ३, डोटी — डोटी जिल्लामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा स्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो।

इनाडाबाट कैलाली तर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुँदा करिब ३०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी, बोगटान फुड्सिल–३ कानाचौरका १७ वर्षीय नरेश साउँ, अछामको ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा र जिप चालक गौरीगंगा नगरपालिका–९ का सन्तोष सापकोटा रहेका छन्।
प्रहरीका अनुसार योगेशको टाउको र ढाडमा तथा नरेशको टाउको, अनुहार र ढाडमा गम्भीर चोट लागेको छ। चालक सापकोटा र जनक बुढाको अवस्था भने सामान्य रहेको छ। सापकोटाको खुट्टा र कम्मरमा तथा बुढाको टाउको, हात र खुट्टामा चोट लागेको छ।
घाइतेहरूलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

