

फागुन १७,अछाम — गृहमन्त्री ओमप्रकाश अर्यालले भौगोलिक कठिनाइ, दुर्गम बस्ती तथा विगतका निर्वाचनमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरिएको बताएका छन् । उनले दुर्गम क्षेत्रमा रहेका मतदाताले निर्धक्क रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गरिने उल्लेख गरे ।
यही फागुन २१ गते हुने निर्वाचनको सुरक्षा अवस्था अनुगमन गर्न आइतबार अछाम आएका उनले गृह मन्त्रालय र केन्द्रीय सुरक्षा समितिले कुनै पनि दलगत आग्रह वा पूर्वाग्रह नराखी काम गरिरहेको बताए । ‘यो नागरिक सरकार हो, हामी कुनै दलीय पक्षधरता लिएका छैनौं,’ उनले भने, ‘पहिलेभन्दा अझ सुदृढ र विश्वसनीय निर्वाचन गराउनु हाम्रो प्राथमिकता हो,’

उनका अनुसार देशभर निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समन्वयात्मक ढंगले काम भइरहेको छ । राजनीतिक सुशासनका लागि असल अभ्यासहरूबाट पाठ सिक्दै सिर्जनशील ढंगले सुरक्षा रणनीति अघि बढाइएको गृहमन्त्री अर्यालले बताए । हाल सुरक्षा संयन्त्रले ‘बटम–अप एप्रोच’ अपनाएर काम गरिरहेको पनि उनले स्पस्ट पारे ।
गृहमन्त्री अर्यालले निर्वाचनमा हुने अनियमितता रोक्न विशेष ध्यान दिइएको जानकारी दिए । ‘एक जनाको मत अर्कोले हाल्ने, मतदाताको अधिकार खोसिने जस्ता गतिविधि यसपटक हुन दिइँदैन,’ उनले भने, ‘मतदातालाई मतदान गर्न नदिने, मृत व्यक्तिको नाममा मत हाल्ने तथा बुथ कब्जा गर्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिन्छ ।’
सरकारले दण्डहीनताको अन्त्य गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले निर्वाचनलाई स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताए ।
गृहमन्त्री नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये संवेदनशील मानिने अछाममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन स्थलगत निरीक्षण गरिएको हो । बाँके र बाजुरा हुँदै अछाम आइपुगेको मन्त्रीस्तरीय टोलीले पञ्चदेवल विनायक नगरपालिकासहित विभिन्न क्षेत्रमा सुरक्षा तयारीको अवस्था बुझ्दै सुरक्षा निकाय र सरोकरवालासँग छलफल गरेको छ । -कान्तिपुरबाट साभार

