

फागुन ६ गते,डोटी :डोटीको बडिकेदार गाउँपालिकामा लागु पदार्थ दुरुपयोग, छाउपडी प्रथा तथा बालविवाह न्यूनीकरणसम्बन्धी ३ दिने सचेतनामूलक तथा किशोरी आत्म–सुरक्षा कार्यक्रम सुरु भएको छ ।
फागुन ०६ गतेदेखि ०८ गतेसम्म बर्छैन माध्यमिक विद्यालय, बर्छैनमा सञ्चालन गरिएको उक्त कार्यक्रम समता विकास नेपाल, डोटीका प्रतिनिधि रोशन कोलीको सभाध्यक्षतामा तथा बडिकेदार गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा किशोरीहरूलाई लागु पदार्थको दुरुपयोगबाट हुने असर, छाउपडी प्रथाका स्वास्थ्य जोखिम, बालविवाहका कानुनी तथा सामाजिक प्रभावका विषयमा जानकारी दिइनुका साथै आत्म–सुरक्षासम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको थियो।
स्थानीय तहमा विद्यमान सामाजिक विकृति न्यूनीकरण गर्दै किशोरीहरूलाई सचेत, आत्मविश्वासी र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
उक्त तालिममा ५२ जना विद्यार्थीहरुको सहभागिता रहेकोे छ।
कार्यक्रमको आयोजना बडिकेदार गाउँपालिका, डोटीले गरेको थियो भने सहजीकरण समता विकास नेपाल, डोटीले गरेको हो।

