

सुबास नेपाली,फागुन १ डोटी :आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता, मतदान केन्द्रको अवस्था तथा सुरक्षा व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम डोटीमा सम्पन्न भएको छ।
निर्वाचन आचारसंहिता, मतदान केन्द्रको अवस्था तथा सुरक्षा व्यवस्थासम्बन्धी छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै दिपायल–सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको बताउनुभयो।
उनले आफ्नो पालिका पनि निर्वाचनदेखि सुरक्षा व्यवस्थासम्म आवश्यक सबै सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो।
स्थलगत अनुगमनमा सबैको सहयोग प्रशंसनीय — मुख्य निर्वाचन अधिकृत पाण्डे

मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डेले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको समन्वय अनिवार्य भएको बताउनुभयो।
उनले स्थलगत अनुगमनका क्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय कार्यकर्ताबाट पाएको सहयोगले निर्वाचन तयारी सहज बनेको बताए।
त्यसका साथै उनले सबै मतदान केन्द्रमा २–२ वटा CCTV क्यामेरा जडान गर्ने प्रक्रियामा पहल भइरहेको जानकारी पनि गराए।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबैका लागि बाध्यकारी हुने बताउनुभयो ।
आचारसंहिता विपरीत कार्य गर्ने व्यक्तिबाट कानूनी कारबाही हुने चेतावनी दिँदै उनले निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन सबैसँग सहयोगको आग्रह गर्नुभयो।
उहाका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर एक हप्ता पहिलेदेखि मदिरा बिक्रीवितरण बन्द गर्ने तयारी पनि गरिएको छ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र नेपालले निर्वाचनलाई स्वच्छ,निष्पक्ष डररहित रूपमा
सम्पन्न गर्न सुरक्षा व्यवस्था थप कडा पारिने बताउनुभयो।
उनका अनुसार सम्भावित जोखिम क्षेत्रहरूमा प्रहरी तैनाथी, गस्ती तथा निगरानी बढाइने पनि उहाको भनाई रहेको छ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला अदालत डोटीका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डे प्रमुख आतिथि रहनु भएको थियो।
जिल्ला प्रशासन कार्यालय डोटीको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, दिपायल–सिलगढी नगरपालिकाका जनप्रतिनिधि तथा वडा सचिवहरूको उपस्थितिमा छलफल गरिएको थियो।

