


माघ ७ गते ,कैलाली : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द)ले प्रतिस्पर्धीको आलोचना नगरी आफ्ना एजेण्डा र योजनासहित जनतामा जाने बताएका छन्।
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको उल्लेख गर्दै उनले आफू स्वच्छ, सभ्य र सकारात्मक प्रतिस्पर्धामा होमिने प्रतिबद्धता व्यक्त गरे। मंगलबार वारेसमार्फत उम्मेदवारी दर्ता गराएका विष्ट बुधबार आफ्नो निर्वाचन क्षेत्र कैलाली–४ पुगेका हुन्।
निर्वाचन क्षेत्र पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,
“म पवित्र भावका साथ कैलाली–४ का जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। चुनावी प्रतिस्पर्धामा अरू उम्मेदवारमाथि आरोप–प्रत्यारोप वा गालीगलौज गर्नु हुँदैन। आफ्ना एजेण्डासहित जनतामा जानु नै लोकतान्त्रिक संस्कार हो।”
विष्टले आफू जनताको घरदैलोमा पुगेर आफ्ना योजना, विचार र विकासका खाकाहरू प्रस्तुत गर्ने बताए। प्रतिस्पर्धी उम्मेदवार लेखराज भट्टलाई स्वच्छ र सभ्य प्रतिस्पर्धाका लागि फोनमार्फत आग्रहसमेत गरेको उनले जानकारी दिए।
“परम्परागत गालीगलौजको राजनीति अन्त्य गरेर जनताको विश्वास जित्नु मेरो लक्ष्य हो,” उनले भने।
३६ वर्ष लामो राजनीतिक अनुभव तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै कैलाली–४ को विकासमा आफू समर्पित हुने प्रतिबद्धता उनले जनाए। साथै, जेन–जी आन्दोलनको भावना समेटेर परिवर्तनको संवाहक बन्ने उनले दाबी गरे।
“म जेन–जीको भावना र आकांक्षाको सम्मान गर्दै अघि बढ्नेछु। परिवर्तनको संवाहक बनेर आएको छु,” उनले भने। पार्टीभित्र देखिएका विवादसमेत अन्त्य भइसकेको उनको भनाइ थियो।
गेटा विमानस्थलमा अवतरण गरेपछि विष्टले माटोलाई ढोग्दै निर्वाचन क्षेत्रप्रति सम्मान व्यक्त गरेका थिए। उनलाई विमानस्थलमा कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले फूलमालासहित स्वागत गरेका थिए।
त्यसपछि विष्टले गोदावरी तीर्थधाम पुगेर सञ्चालनमा रहेको बाह्र राशि कुम्भ मेलास्थलमा कुम्भ बाटिका र शिवालयमा पूजाअर्चना गर्दै चुनावी अभियानको औपचारिक सुरुआत गरेका थिए। सो अवसरमा उनले धामका गुरु तुल्छी गिरीबाट आशीर्वादसमेत लिएका थिए।

