Sujang

डोटी महोत्सव फागुन १ गतेदेखि हुने

Ban

माग ४ गते डोटी :डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ।

आइतबार दिपायलमा आयोजित पत्रकार सम्मेलन मार्फत उद्योग वाणिज्य संघ डोटीले महोत्सव आयोजना गर्न लागेको जानकारी सार्वजनिक गरेको हो।

“कृषि, पर्यटन, उद्योग व्यापारको पूर्वाधार, डोटी विकासको मूल आधार” भन्ने मूल नाराका साथ दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष विक्रम साउँदले बताए ।

स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवले जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको उनले बताए ।

महोत्सवमार्फत गाउँघरमा लुकेका नवप्रतिभाहरूलाई प्रोत्साहन गर्ने , अग्रज कलाकारको सम्मान गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रोजगारीका अवसर सिर्जना गर्ने र डोटीको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको अध्यक्ष साउँले बताए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका औद्योगिक, व्यापारिक र व्यावसायिक स्टलहरू, कृषि तथा हस्तकला प्रदर्शनी, पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति,मनोरञ्जनात्मक तथा बालमैत्री कार्यक्रमहरू लगायत विविध गतिविधिहरू समावेश गरिने उनले बताए ।

यश पटक डोटी आइडल प्रतियोगिता गर्ने ,डोटी बहस सञ्चालन गर्ने , जिल्लाको मौलिक संस्कृति, भेषभूषा, खानपान र जीवनशैलीलाई प्रत्यक्ष अनुभव गर्न सकिने विशेष व्यवस्था गरिएको अध्यक्ष साउँदले बताए ।

सेती नदिमा मोटर बोट तथा र्याफ्टिङ्ग समेत सञ्चालन गरिने उनले बताए ।

Krishi

महोत्सवमा १ सयभन्दा बढी स्टल राखिने र ६० हजार बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीले बताए। महोत्सवमा ८५ लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको भण्डारीले बताए ।

महोत्सवको टिकेट प्रति व्यक्ति १०० रुपैंया निर्धारण गरिएको छ । विद्यार्थिहरुको लागि ५० रुपैंया गरिएको छ भने फरक क्षमता भएका लागि निःशुल्क गरिएको वाणिज्य संघका कोषाध्यक्ष आइजङ्ग कुँवरले बताए ।

पहिलोपटक ‘डोटी आइडल’ हुँदै

महोत्सव २०८२ को अवसरमा पहिलोपटक ‘डोटी आइडल’ आयोजना हुने भएको छ।

स्वरका धनी भएर पनि हालसम्म गीत रेकर्ड गर्ने अवसर नपाएका जिल्लामा लुकेर बसेर गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले डोटी आइडल सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा छनाेट गर्दा अहिलेसम्म गित रेकर्ड नगरेको , डोटीको बासिन्दा भएको र १२ देखि ४० वर्ष उमेर समूहका नव–प्रतिभाशाली गायक–गायिकाहरूलाई सहभागिता गराईने प्रेस सल्लाहकार मोहन शाहीले बताए ।

प्रतियोगिताको अडिसनको पहिलो चरणबाट जिल्लाका प्रत्येक पालिकाबाट ३/३ जना प्रतियोगी छनोट गरिने उनले बताए ।
प्रारम्भिक चरण पार गरेका प्रतियोगीहरूलाई महोत्सव स्थल दिपायलमा आयोजना हुने फाइनल चरणमा प्रवेश गराइने छ । नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकर्मीहरू सम्मिलित निर्णायक मण्डलले मूल्यांकन गर्ने व्यवस्था गरिएको जनाएको छ।

डोटी आइडलको टप थ्रीमा पर्न सफल गायक–गायिकाहरूलाई गीत रेकर्ड गर्ने अवसर, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
इच्छुक प्रतियोगीहरूले २०८२ साल माघ १५ गतेभित्र डोटी उद्योग वाणिज्य संघको सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ। नाम दर्ता भएका प्रतियोगीहरूले दुईवटा फरक–फरक विधाका गीत भिडियो सहित अडियो रेकर्ड गरेर पठाउनुपर्ने व्यवस्था रहेको छ।

‘डोटी आइडल’ कार्यक्रमले जिल्लाका मौलिक तथा नयाँ गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने महत्वपूर्ण अवसर सिर्जना गर्ने आयोजकले विश्वास लिइएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.