

पुस १८ गते,डोटी :दलित महिला संघ (फेडो) डोटीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाले उक्त आर्थिक वर्षभित्र सञ्चालन गरेका विभिन्न कार्यक्रम, प्राप्त उपलब्धि, सामना गर्नुपरेका चुनौती तथा आय–व्यय विवरण सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो।

सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले संस्थाको कार्यसम्पादनबारे सुझाव, सल्लाह तथा प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा प्राप्त सुझाव, सल्लाह र प्रतिक्रियालाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरिने दलित महिला संघ (फेडो) की अध्यक्ष सरिता दयालीले बताइन्।
संस्थागत पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ (फेडो) का जिल्ला परियोजना संयोजक शंकर विश्वकर्माले जानकारी दिए।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का, उपप्रमुख कलावती महरा साउद, विभिन्न वडाका अध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधि, समुदायका प्रतिनिधि, लाभग्राही, सञ्चारकर्मी तथा संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

