Sujang

सामुदायिक विकास केन्द्र डोटीको ३३औँ वार्षिकोत्सव सम्पन्न

Ban

पुस १६ गते ,डोटी :सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको ३३औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

बुधबार सिलगढीमा संस्थाको ३३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विद् डा. सदानन्द कडेलले संस्थाले शिक्षाका क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले सामाजिक क्षेत्रमा समर्पित भएर गरिएको मेहनतले संस्था र व्यक्तिदुवैलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। डोटी र सुदुर पश्चिममा आफ्नो जीवनका महत्वपूर्ण समय बिताएको स्मरण गर्दै उनले चाँडै ‘सौराई सुदूरपश्चिमकी’ पुस्तक सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी पनि दिए। साथै उनले संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले शिक्षा, आयआर्जन, स्थानीय पाठ्यक्रम निर्माण तथा बाल संरक्षणका क्षेत्रमा संस्थाले राम्रो पहिचान बनाउन सफल भएको बताए। आवश्यकता अनुसार कार्यक्रम विस्तार गर्दै लैजान सके संस्थाको प्रभाव अझ बढ्ने उनको भनाइ थियो। उनले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हरिप्रसाद पन्तको उद्देश्यलाई कहिल्यै बिर्सन नहुनेमा जोड दिए।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य रघु कठायतले तीन दशकभन्दा बढी समयदेखि शिक्षा लगायतका क्षेत्रमा सामुदायिक विकास केन्द्रले गरेको योगदान स्मरणयोग्य रहेको बताए। उनले संस्थापक अध्यक्ष स्वर्गीय पन्तले देखाएको मार्गलाई निरन्तर पछ्याउनुपर्नेमा जोड दिए।

Krishi

संस्थाका कार्यकारी निर्देशक हेमराज जोशीले संस्थाको आजको अवस्थासम्म आइपुग्नुमा संस्थापक अध्यक्ष स्वर्गीय हरिप्रसाद पन्तको मुख्य योगदान रहेको उल्लेख गरे। उनले संस्थालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबै व्यक्ति तथा निकायप्रति आभार व्यक्त गरे।

कार्यक्रममा जिल्ला संयोजक तेज शर्मा, गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष लाल बिक लगायतका वक्ताहरूले पनि स्वर्गीय हरिप्रसाद पन्तको दूरदर्शी नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समुदायमुखी सोचको स्मरण गरेका थिए।

सामुदायिक विकास केन्द्रका सीनियर म्यानेजमेन्ट टिमका सदस्य सुनिल घर्तिले संस्थाको ३३ वर्षे यात्रा, प्रमुख उपलब्धि तथा आगामी कार्यदिशाबारे प्रस्तुति दिएका थिए।

सामुदायिक विकास केन्द्र उपाध्यक्ष कृष्ण विकको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो ।

वि.सं. २०४९ साल पौष १६ गते डोटी जिल्लाको तत्कालीन जिजोडामाण्डौं गाविस–उच्चाकोटमा स्थापना भएको सामुदायिक विकास केन्द्रले स्थापना कालदेखि नै ग्रामीण, सीमान्तकृत तथा पिछडिएका समुदायको सामाजिक, आर्थिक र संस्थागत विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। हाल संस्थाले सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्ला तथा कर्णाली प्रदेशका केही जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालन गरिरहेको छ।

संस्थाले सुदूरपश्चिम प्रदेशका ६५ वटा पालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, लैङ्गिक समानता, समावेशी विकास र सुशासनसम्बन्धी झण्डै एक दर्जन कार्यक्रमहरू विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा सञ्चालन गर्दै आएको कार्यकारी निर्देशक जोशीले जानकारी दिए।

वार्षिकोत्सव कार्यक्रमका अवसरमा स्वर्गीय हरिप्रसाद पन्तको तस्वीरमा माल्यार्पण तथा श्रद्धासुमन अर्पण गर्दै उहाँको मूल्य–मान्यता र मार्गदर्शनलाई आत्मसात् गर्दै समुदायको जीवनस्तर उकास्ने कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.