

धन बहादुर बोहरा,मंसिर ६ गते, डोटी:डोटीको के.आई. सिंह गाउँपालिका–६ फलेडीबासीका स्थानीयवासी चुलोमा खाना पकाउँदा निस्कने धुवाँबाट मुक्त भएका छन्। ग्रामीण जीवनस्तर सुधार गर्ने उद्देश्यले Livelihoods Funds को आर्थिक सहयोग तथा Practical Action र आस्था नेपालको साझेदारीमा शनिबार उक्त वडाका ४० परिवारलाई धुवाँरहित वायुपंखी चुलो वितरण गरिएको हो।
वायुपंखी चुलो प्रयोगले घरभित्रको धुवाँको असर हटाउनुका साथै इन्धनको खपत घटाउने, महिला दिदीबहिनीको समय बचत गर्ने, स्वास्थ्यमा सुधार ल्याउने र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने आस्था नेपालका फिल्ड सहायक गणेश खड्काले जानकारी दिए।

प्रति चुलोको एकाइ लागत ६ हजार ३ सय २५ रुपैयाँ रहेकामा आस्था नेपालबाट ३ हजार ७ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो। बाँकी २ हजार ६ सय २५ रुपैयाँमध्ये मष्टा मेलउनी सामुदायिक वन उपभोक्ता समितिले १ हजार ६ सय रुपैयाँ व्यहोरेको र उपभोक्ताले स्वयं १ हजार २५ रुपैयाँ मात्रै तिरेको खड्काले बताए।
स्थानीय बासिन्दाहरूले वायुपंखी चुलो प्राप्त भएपछि स्वास्थ्यमा सुधार हुनुका साथै समाज स्वच्छ र वातावरणमैत्री बन्ने विश्वास व्यक्त गरेका छन्। वातावरणमैत्री प्रविधिले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने उनीहरूको भनाइ छ।

