

मंसिर १५, डोटी : डोटीको शिखर नगरपालिकामा आइतबारदेखि पालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। सिद्धेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
शिखर नगरपालिका अन्तर्गतका १५ विद्यालय सहभागी बनेको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्शल आर्ट गरी चार विधाका खेलहरू सञ्चालन भइरहेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले शिखर नगरपालिका शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमै अगाडि रहेको उल्लेख गर्दै विद्यालयस्तरको खेल पूर्वाधार विकासमा सरकारबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।
जिला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पनि शिखर सरकारले शिक्षा, खेलकुद र बालबालिकाको भविष्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अन्य पालिकाले पनि यसबाट सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो।
नगर प्रमुख दीर्घ बहादुर बलायरले भौतिक पूर्वाधारभन्दा बढी बालबालिकाको भविष्यमा लगानी गर्दै आएको शिखर नगरपालिकाको नीति प्रभावकारी बन्दै गएको बताउनुभयो।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयलाई १५ हजार, र तृतीयलाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

उद्घाटन खेलका नतिजा
लङ्गजम्प (छात्र) :
१. सिद्धेश्वर मावि बानेडुग्रीसैन – प्रथम
२. केदारेश्वर मावि कपल्लेकी – द्वितीय
३. राधाकृष्ण मावि गोपघाट – तृतीय
लङ्गजम्प (छात्रा) :
१. सिद्धेश्वर मावि बानेडुग्रीसैन – प्रथम
२. सिद्धेश्वर मावि बानेडुग्रीसैन – द्वितीय
३. राधाकृष्ण मावि गोपघाट – तृतीय
मार्चपास :
१. सिद्धेश्वर मावि बानेडुग्रीसैन – प्रथम
२. केदारेश्वर मावि कपल्लेकी – द्वितीय
३. शारदा मावि मुडभरा – तृतीय
आजका खेलहरू
आजको खेल एथलेटिक्स अन्तर्गत छात्र–छात्रा त्रिपल जम्प बाट सुरु भएको छ।
कबड्डी (छात्र) : हरिहर मावि बनाम लाटामाण्डौ मावि
भलिबल (छात्र) : राधाकृष्ण मावि बनाम बानेडुग्रा मावि
भलिबल (छात्रा) : राधाकृष्ण मावि बनाम सुनाखरी इङ्लिस बोर्डिङ स्कुल
प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ।

