

धन बहादुर बोहरा, मंसिर ९ गते : डोटीमा १ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त व्यक्तिहरूलाई मतदाता नामावली दर्ताका लागि आह्वान गरेपछि सो संख्या थपिएको हो।

जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार नयाँ थपिएका मतदातामध्ये ५८३ जनाले अनलाइन प्रणालीमार्फत मतदाता परिचयपत्रका लागि विवरण भरेका छन् भने १,२७९ जनाको नाम दर्ता राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणका आधारमा गरिएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावली संकलनका लागि आवेदन खुला गरेको थियो। सोही अभियानअन्तर्गत डोटीमा यसपटक उल्लेख्य संख्या थपिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख पन्तका अनुसार मतदाता नामावली दर्तासँगै त्रुटि सच्याउने, मतदाता केन्द्र परिवर्तन गर्ने जस्ता कार्य पनि जारी छन्। पहाडी जिल्लाबाट बसाइँसराइ बढिरहेको समयमा यसरी मतदाता संख्या वृद्धि हुनु उत्साहजनक रहेको पन्तको भनाइ छ।

