

हाल टिकटकमा ‘तानी लान्छु ओय झुम्की’ बोलको देउडा गीत निकै चर्चित बनेको छ। परम्परागत देउडालाई आधुनिक (मोर्डन) शैलीमा प्रस्तुत गरिएको यो गीत अहिले सामाजिक सञ्जालमा हिट ट्रेन्ड बनेको छ।
यो गीत छ वर्षअघि युट्युबमा सार्वजनिक गरिएको हो। एभरेस्ट ग्यालरी नामक युट्युब च्यानलबाट अपलोड गरिएको गीत अहिले फेरि नयाँ पुस्ताबीच लोकप्रिय बनेको छ।
गीतमा विष्णु भट्टको स्वर रहेको छ भने गीतका शब्द प्रहरी जवान उमेश कठायतले लेखेका हुन्। संगीत पनि गायक भट्टले नै भरेका छन्, र संगीत संयोजन कमल सौरागले गरेका हुन्।

गीतको निर्देशन विक्रम चौहानले गरेका छन्। भिडियोमा सृष्टि खड्का, सुरज मल्ल र कैलाश कठायतले अभिनय गरेका छन्।
प्रेम कथामा आधारित यो गीतलाई देउडा शैलीमा प्रस्तुत गरिएको छ। यद्यपि कतिपय दर्शकले गीतको अर्थ नबुझे पनि ताल, लय र अभिनयका कारण रमाउँदै टिकटक भिडियो बनाइरहेका छन्।
तिहारको अवसरमा देउसी–भैलोका रूपमा गाउँदै भिडियो बनाइएपछि गीतले थप लोकप्रियता कमाएको गायक भट्टले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनका अनुसार, एक सातामै लाखौं टिकटक प्रयोगकर्ताले गीतका टुक्कामा भिडियो बनाएका छन्।
साथै, युट्युबमा पनि गीतले ६ लाखभन्दा बढी भ्युज बटुलेर पुनः चर्चाको शिखरमा पुगेको छ।

