Sujang

बडिकेदार गाउँपालिकाले कार्तिक १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय

Ban

एकेन्द्र चन्द,कार्तिक १४ :डोटीको बडिकेदार गाउँपालिकाले यही कार्तिक १७ र १८ गते (सोमबार र मंगलबार) दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाममा मेला लाग्ने भएकाले सो अवसरमा बिदा दिइने जनाएको हो।

शुक्रबार जारी सूचनामा गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, गैरसरकारी सङ्घ–संस्था, वित्तीय संस्था तथा विद्यालयहरूमा बिदा लागू हुने उल्लेख गरेको छ।

Krishi

बोगटान फुड्सिल र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित बडिकेदारमा कार्तिक शुक्ल त्रयोदशीको राति र शिव वैकुण्ठ चतुर्दशीको दिन दिउँसो मेला लाग्ने परम्परा रहिआएको छ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस तीर्थस्थलमा दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहँदै आएको बडिकेदार धामका मुख्य पुजारी सिद्धराज बिनाडीले बताए।

बडिकेदार धाम पुग्न कैलालीको सहजपुरबाट डोटीको विपी नगर, खँड्यौली बजार र अत्तरकाँडा बजार हुँदै पार्किङसम्म सडक सुविधा रहेको छ। पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा धाममा पुग्न सकिने बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका निवर्तमान कार्यकारी अधिकृत तथा मेला संचालन समिति संयोजक दीपेन्द्रराज सिराडीले जानकारी दिए।

मेला अवधिभर विभिन्न आस्थाका श्रद्धालु भक्तजनहरू कथा, विवाह, व्रतबन्ध, मुण्डन लगायतका धार्मिक कार्यहरू गर्न आउने गर्दछन्। समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटरको उचाइमा अवस्थित यस तीर्थमा तराईका थारू समुदायका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.