

असोज ३० गते, डोटी :जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा डाेटी प्रथम भएकाे छ ।
स्वास्थ्य कार्यालय डाेटीले गरेकाे मुल्यांकनमा ८३.९ अंक ल्याउँदै जोरायल गाउँपालिका प्रथम भएकाे हाे । प्रथम भएकाे जोरायल गाउँपालिकाकाे स्वास्थ्य शाखालाई बिहिवार स्वास्थ्य कार्यालय डाेटीले आयाेजना गरेकाे बार्षिक समीक्षा कार्यक्रममा दाेसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएकाे छ ।
डाेटीमा २ नगर र ७ पालिका गरि ९ वटा स्थानीय रहेका छन् । गत आर्थिक बर्ष ०८१/०८२ मा सम्पादित स्वास्थ्य क्रियाकलापकाे मुल्यांकन गरेर जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय डाेटीले नतिजा सार्वजनिक गरेकाेे हाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टलाई सम्मान प्रदान गरेका हुन ।


स्वास्थ्य कार्यालय डाेटीले गरेकाे मुल्यांकनमा के.आई.सिंह गाउँपालिका ८३.७ अंक ल्याउँदै दाेस्राे भएकाे छ। त्यस्तै तेस्राे स्थानमा आदर्श गाउँपालिका परेकाेे छ । आदर्श गाउँपालिकाले ८२.७ अंक ल्याएकाे थियाे ।
स्वास्थ्य शाखा डाेटीले हरेक वर्ष विभिन्न सूचकहरू राखेर पालिकाहरूकाे मुल्यांकन गर्दै आएकाे स्वास्थ्य कार्यालय निमित्त प्रमुख दिल्ली रमण जोशीले बताए ।
त्यस्तै जिल्ला नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई सम्मान र शाखालाई कदर पत्र समेत प्रदान गरिएको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए ।
त्यसै गरि जिल्ला अस्पताल डोटी,सुजङ अस्पताल राजपुर, शैलेश्वरी अस्पताल दिपायल ,आयुर्वेद कार्यालय दिपायललाई कदर पत्र प्रदान गरिएको उनले बताए ।
बुधबार र बिहिवार गरि दुई दिन संचालन भएको समिक्षा गोष्ठीमा नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख ,नर्सिङ शाखा, जिल्ला अस्पताल प्रतिनिधि लगायतको सहभागी रहेको थियो ।

