

असोज ३० गते ,डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरूले तालाबन्दी गरेका छन् । पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै मंगलबार गाउँपालिकामा सुझाव पेस गरेको तर कुनै निष्कर्ष नआएको भन्दै बुधवार दिउँसो तालाबन्दी गरेका हुन् ।
युवाहरूले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपति खड्कालगायत विभिन्न ५ जना वडा अध्यक्षहरू, एक जना कर्मचारी सहितलाई भित्र थुनिएको थियो।
पुर्बीचौकी गाउँपालिका र युवा समाज बिच मागका बारेमा बिहीबार दिउँसो १२ बजे बस्ने सहमति पश्चात् भित्र थुनिएका जनप्रतिनिधि लगायतलाई पालिकामा लगाएको ताला खोलेर बुधवार साँझ निकालिएको थियो ।

आज (बिहीबार) प्रत्येक वडाबाट परिचय खुल्ने गरी ३ जना र १ जना संयोजक गरी २२ जना प्रतिनिधि र जनप्रतिनिधिहरू लगायत शाखाका प्रमुखहरूको उपस्थितिमा पालिकाको वडा नम्बर -४को कार्यलयमा संयुक्त बैठक बस्ने गरी पालिकाले आव्हान गरेको अध्यक्ष उपाध्यायले बताए ।
‘पुर्वीचौकी गाउँपालिकाको समीक्षा तथा सुझाव बैठकमा प्रस्तुत प्रतिवेदन’ भनेर तयार पारिएका ४७ बुँदे मागहरुमा कुनै पनि युवाहरूको हस्ताक्षर नरहेको र कुनै औपचारिक लेटर प्याड पनि नरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।

यता युवाहरूका मागबारे निकै लामो छलफल भए पनि कुनै समाधान नआएपछि कामकाज गर्न असहज भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले पालिका र सम्पूर्ण वडाहरूमा समेत दैनिक सरकारी कामकाज अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । वातावरण असहज भएपछि आफूहरूले कामकाज स्थगन गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।


गाउँपालिकाको लागि विनियोजित १२ करोड रुपैयाँ र हस्पिटलका लागि विनियोजित १० करोड ९५ लाख रुपैयाँको विस्तृत विवरण पेस गर्नुपर्ने, उक्त रकमको भेरिएसन के कसरी भएको हो प्रमाणसहित पेस गर्नुपर्ने, जलवायु अनुकूलनको १ करोड २० लाख रुपैयाँ कहाँ र कसरी प्रयोग भयो, त्यसको प्रमाण पेस गर्नुपर्ने, सिँचाइ योजना अनावश्यक ठाउँमा निर्माण गरिएको र प्रयोगविहीन रहेको अवस्थामा त्यसको कारण दिनुपर्ने, पानी नहुँदाको अवस्थामा पनि खानेपानी योजना सम्पन्न गरी बिल भुक्तानी गरिएको र धारामा पानी नआएको कारण दिनुपर्ने, पालिकाको हालै भएको फर्निचर खरिदमा भ्रष्टाचारको आशंका रहेकाले खरिद मापदण्ड, मूल्यांकन र बिल विवरण दिनुपर्ने, २०७९ सालमा पुर्वीचौकी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा नेपाल सरकारबाट आएको रकम, प्रयोगको अवस्था, वास्तविक पीडितले पाए नपाएको लगायत स्पष्ट प्रमाण दिनुपर्ने युवाहरूका माग छन् ।
तर ४७ बुँदे माग राख्ने युवाहरूमा औपचारिक रूपमा कसले नेतृत्व गरेका छन् र को को हुन् भन्ने खुलेको छैन ।
गाउँपालिकामा तालाबन्दी भएको विषय आफूलाई जानकारीमा आएपछि समाधानका लागि गाउँपालिकासँग समन्वय भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
सोही गाउँपालिकाको वडा नं. ६ मा पनि युवाहरूले तालाबन्दी गरेका छन् ।

मागहरू सम्बोधन नगरे सम्म तालाबन्दी नखोल्ने युवाहरूको भनाई रहेको छ।
यसै विषयमा जेनजि डोटीको ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।

विज्ञप्तिमा युवाहरूले समस्या समाधानका तत्काल पहल तथा माग पुराका लागि अगाडी बढ्न अनुरोध गरिएको छ।

