

असोज २६, डोटी :भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु डोटीले प्रहरीमा जाहेरी दिएको छ ।
देशैभरबाट जाहेरी दिने संगठनको केन्द्रिय निर्णय अनुसार अनेरास्ववियु डोटीका संयोजक तपेश विश्वकर्माले जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी उपरीक्षक महेन्द्र नेपाललाई जाहेरी बुझाएका हुन् ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगाएत सरकारी संरचना, सरकारी कागजात, व्यक्तिगत सम्पत्ति तोडफोड तथा आगजनी गर्न उक्साएर विध्वंस मच्चाउने, लुटपाट र विद्यार्थी परिचालन गरि मुठभेट गराइ हत्याको परिस्थिति सिर्जना गर्न बालेन र सुधनले गलत भुमिका खेलेको जाहेरीमा उल्लेख छ ।

उजुरीको साथमा फोटो, भिडियो लगाएत प्रमाण सहित पेनड्राइभमा प्रमाण समेत पेश गरेको छ ।
उनीहरु दुवै जनालाई तत्काल पक्राउ गरि कारवाही गरिनुपर्ने अनेरास्ववियु डोटीले माग गरेको छ ।
भ्रष्टाचार अन्त्य लगाएत जेनजीका विशुद्ध जायज मागहरूप्रति अनेरास्ववियुको समर्थन रहेको तथा राष्ट्रियता र संविधानको रक्षाका लागि जुनसुकै हस्तक्षेप स्विकार्य नहुने संयोजक बिकले बताए ।
आन्दोलनमा ज्यान गुमाएका, घाइते र सम्पत्तिको क्षती लगाएत विषयमा सरकारले उचित सम्बोधन गर्नुपर्ने पनि उनलेे बताए ।