

सुबास नेपाली,असोज २५,डोटी : डोटी जिल्लामा लागु औषध प्रयोगकर्ता र ओसारपसार बढेको भन्दै त्यसको नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय डोटी कडा रूपमा प्रस्तुत हुने भएको छ।

जिल्लामा लागू औषध प्रयोगकर्ता दिनहुँ दिन बढी रहेको र त्यसका कारण हत्या,हिंसा ,पारिवारिक कलह,आत्महत्या जस्ता घटना बढी रहेको र जसका कारण कलिला युवाहरूको भविष्य नै जोखिममा परेको कुरालाई संवेदनशील रूपमा लिई त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय डोटी र सरोकारवाला निकाय कडारुपमा प्रस्तुत हुन लागेको हो।
लागू औषध र यसको गैर कानुनी कारोबार नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा कदम चाल्ने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । जिल्ला भित्र लागू औषधको बिक्री, सेवन र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने तयारी गरिएको र यसका लागि सुरक्षाका निकायहरूबिच समन्वय गरी निगरानी र खोज तलासी अभियानलाई थप सशक्त बनाइने पनि जोशीले बताए।
जिल्ला प्रशासन कार्यालय डोटीले लागू औषध र यसको गैर कानुनी कारोबार नियन्त्रण गर्न जिल्ला स्थित सरोकारवाला निकायहरू सँगको संयुक्त बैठक बसी सात बुँदे निर्णय पनि सार्वजनिक गरेको छ ।
१.जिल्लामा लागु औषध प्रयोगकर्ताको सङ्ख्या पछिल्लो समय बढ्दै गइरहेको अवस्थालाई संवेदनशील र लागी लिँदै सो को नियन्त्रणको लागि लागू पदार्थ दुरुपयोग, ओसारपसार र बिक्री वितरण हुन सक्ने सम्भावित क्षेत्रहरूका रूपमा पहिचान गरिएका क्षेत्रहरू ( बुडर, गोपघाट, दिपायल सिलगढी) मा निगरानी बढाउने,सुराकी परिचालन गरी सूचना संकलन गर्ने र कानुन विपरीत कार्य गर्नेलाई आवश्यक कारबाहीका लागि सरोकारवाला निकायमा पेस गर्ने ।
२. लागु पदार्थ दुरुपयोग, ओसारपसार र बिक्री वितरण हुन सक्ने सम्भावित क्षेत्रहरूमा जिल्ला प्रहरी कार्यालय अन्तरगतका इकाइहरुले अनुगमन तथा निरीक्षण गर्ने ।
३. लागु औषध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने र स्थानीय तहसँग समन्वय गरी विद्यालय तथा समुदाय स्तरमा सञ्चालन भइरहेका युवा लक्षित जनचेतना अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिने ।
४. पत्रकार महासंघ डोटीसँग समन्वय जिल्लास्थित एफ. एम. रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका सञ्चार माध्यमबाट लागु औषध दुर्व्यसन विरुद्ध सूचना, जानकारी, सन्देशमूलक सामाग्री प्रकाशन प्रसारण गर्ने ।
५. चाडपर्वको मौका छोपी अवैध निकासी पैठारी गर्ने, चोरी तस्करी गर्ने, लागु औषध ओसारपसार गर्ने जस्ता कार्यहरू नियन्त्रण गर्न जिल्ला प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी निगरानी बढाउने ।
६. चाडबाडको बेला अवैध मदिरा, लागु औषध दुर्व्यसनको बिक्री वितरण, सेवनका कारण सामाजिक अपराधका घटना घट्ने क्रम बढिरहेको हुँदा जिल्लास्थित सबै सुरक्षा निकायले जिल्लामा रहेका आफ्ना सबै संयन्त्रलाई चेकजाँच, अनुगमन, गस्ती, पेट्रोलिङ्गलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने / गराउने ।
७.मदिरा, लागु औषधको बिक्री वितरण, सेवन गर्ने स्थान र व्यक्तिको पहिचान गरी नियमित र निरन्तर अनुगमन गरी कारबाही गर्ने ।
जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरूले लागू औषध र यसको गैर कानुनी कारोबार नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम र विद्यालय–समुदाय स्तरमा सचेतना अभियान सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

