Sujang

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा दिपायल सिलगढी नगरपालिकालाई ८ बुँदे ज्ञापनपत्र बुझाइयो

Ban

असोज २५, डोटी :विश्व मानसिक स्वास्थ्य दिवस २०२५ (अक्टोबर १०) को अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न मागहरू राख्दै दिपायल सिलगढी नगरपालिकालाई आठ बुँदे ज्ञापनपत्र बुझाइएको छ।

शसक्त महिला समृद्ध नेपाल परियोजनाका जिल्ला संयोजक टिकेन्द्र प्रसाद भण्डारीको संयोजनमा तथा टि.पि.ओ. नेपालसँगको समन्वयमा आयोजित कार्यक्रममा नगर उप–प्रमुख कलावती महर साउदलाई उक्त ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा समावेश प्रमुख ८ मागहरू यस प्रकार छन्:

१. लैङ्गिक उत्तरदायी नीति निर्माण — मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि नीति, कार्ययोजना र स्रोतको व्यवस्थापन।

२. स्थानीय तहबाट बजेट व्यवस्था — स्वास्थ्यकर्मी, शिक्षक, सामाजिक कार्यकर्ता र स्वयमसेवकका लागि क्षमता अभिवृद्धि कार्यक्रम, औषधि खरिद, जनचेतना कार्यक्रम, पुनर्स्थापना र प्रेषण सेवा सञ्चालन।

३. जोखिममा रहेका नागरिकका लागि सेवा पहुँच — द्वन्द्व तथा हिंसाबाट प्रभावित, संरक्षण र विपद्को जोखिममा रहेका नागरिकहरूका लागि अनिवार्य रूपमा मनोसामाजिक सहयोग।

Krishi

४. समुदायमा आधारित कार्यक्रम सञ्चालन — प्रवर्द्धनात्मक, रोकथाममूलक, उपचारात्मक र पुनर्स्थापनात्मक कार्यक्रमहरूको तर्जुमा र कार्यान्वयन।

५. भेदभाव र लाञ्छना अन्त्य — मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति तथा तिनका परिवारका सदस्यहरूलाई हुने भेदभाव, लाञ्छना अन्त्य गर्न नीति निर्माण।

६. एकद्वार प्रणालीको विकास — सरकारी, गैरसरकारी, विशेषज्ञ संस्था तथा सरोकारवालाबीच सहकार्य गरी न्यूनतम मापदण्डसहित कार्यक्रम सञ्चालन।

७. केन्द्र तथा प्रदेश सरकारसँग समन्वय — मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी कार्यक्रमहरू स्थानीय तहमा ल्याउन पहल।

८. समन्वय समिति गठन — कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्न अधिकार सम्पन्न समन्वय समिति गठन, अनुगमन र सुपरिवेक्षण।

टि.पि.ओ. नेपालकी प्रतिनिधि निरा विकका अनुसार, यी मागहरू स्थानीय तहको नीति निर्माण र कार्यान्वयन प्रक्रियामा मानसिक स्वास्थ्यको समावेशीकरणको लागि महत्वपूर्ण छन्।

जिल्ला संयोजक भण्डारीले मानसिक स्वास्थ्य प्रवर्द्धनमा सबै तह र पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, “हामी सबैको सहकार्य बिना मानसिक स्वास्थ्य समस्या समाधान सम्भव छैन,” भन्ने धारणा व्यक्त गरे।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.