

डोटी, असोज २१ – डोटीमा प्रहरी जवान शंकर बलायरको मृत्यु प्रकरणमा बस चालक गणेश धामी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक महेन्द्र नेपालका अनुसार बाजुराको गौमुल गाउँपालिका–२ का ३३ वर्षीय बस चालक धामीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी असोज १७ गते राति भएको घटनापछि फरार रहेका थिए।

प्रहरीका अनुसार धामीले चलाएको ना ७ ख १७२ नम्बरको यात्रुवाहक बसले बलायरलाई शुक्रवार राती ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उक्त बस बाजुराबाट धनगढीतर्फ जाँदै थियो।
शिखर नगरपालिका–८ तिलताली घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत २८ वर्षीय प्रहरी जवान बलायर असोज ७ गतेदेखि दसैँ बिदामा घर आएका थिए।
उनी असोज १७ गते राति १२:१५ बजे शिखर नगरपालिका–८, गोपघाटस्थित केआई सिंह राजमार्गको सडकमा घोप्टो अवस्थामा मृत फेला परेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नेपालले बताए ।

