

सुबास नेपाली,असोज ७ गते ,डोटी :दिपायल सिलगढी नगरपालिकाले दसैँ, तिहार लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै कालोबजारी, मूल्यवृद्धि र म्याद गुज्रेका वस्तुको बिक्री नियन्त्रण गर्न संयुक्त अनुगमन गरिएको हो।

नगर उप–प्रमुख कलावति महर साउदको संयोजकत्वमा भएको उक्त संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय डोटीको सहभागिता थियो।
नगरपालिकाको वडा नं. ६ र ८ अन्तर्गतका बजार क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा पसल, होटल, मासु पसल लगायतका व्यवसायहरूमा मूल्य सूचीको प्रबन्ध, सरसफाइ अवस्था, तथा म्याद गुज्रेका वस्तुको अवस्थाबारे जाँच गरिएको थियो।

उप–प्रमुख साउदका अनुसार, “चाडपर्वको बेला बजारमा कालोबजारी, मूल्यवृद्धि र म्याद गुज्रेका अखाद्य वस्तुहरूको बिक्री वितरण बढ्ने भएकाले उपभोक्ताको हितमा बजार अनुगमन आवश्यक भएको हो।”
स्थानीय व्यवसायी रविन्द्र बोगटीले भने, “नगरपालिकाको अनुगमनले व्यापारीहरूलाई सचेत हुन सहयोग पुगेको छ। यस्तो गतिविधिले उपभोक्ता र व्यापारीबीच विश्वासको वातावरण सृजना गर्न मद्दत गर्छ।”
नगरपालिकाले आगामी दिनहरूमा नगरका सबै ९ वटै वडामा बजार अनुगमनलाई थप सक्रिय बनाउने जनाएको छ।

