

डोटी, भदौ १७ : लैंगिक हिंसा रोकथामका लागि सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिकामा सरोकारवालासँगको पैरवी बैठक सम्पन्न भएको छ।
सोमबार बिहान नगरपालिकाको सभा हलमा सम्पन्न उक्त बैठकको अध्यक्षता नगर प्रमुख बाजि सिंह खड्काले गरेका थिए। प्रमुख खड्काले महिलाविरुद्धको हिंसा रोक्न समाजका सबै पक्षहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
“समाजमा भएका महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न संघ–संस्था, नागरिक समाज, सञ्चार माध्यम सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ,” नगर प्रमुख खड्काले बताए। उनले महिलाहरूले अब हिंसा सहेर बस्न नहुने भन्दै परिवर्तनको सुरुवात महिलाहरू आफैँबाट हुनुपर्नेमा जोड दिए।

नगर प्रमुख खड्काले विकासलाई केवल भौतिक संरचनासँग मात्र नजोड्न आग्रह गर्दै भने, “समस्यामा परेकालाई सहयोग गर्नु पनि विकासकै अङ्ग हो। जनताको निराशालाई आशामा बदल्न सक्नुपर्छ।”
बैठकमा सहभागीहरूले महिलालाई अझै पनि ज्यालामा विभेद गर्ने गरिएको, आत्मनिर्भरता विकासका लागि व्यावसायिक तालिम आवश्यक रहेको, तथा लैंगिक हिंसा र पीडित महिला तथा बालबालिकाको संरक्षण र समाधानतर्फ थप ध्यान दिनुपर्ने कुराहरू उठाए।
कार्यक्रममा साथी संस्थाकी सुदूरपश्चिम संयोजक पार्वती भण्डारी र सेफ हाउस डोटीकी प्रमुख एवं मनोविमर्शकर्ता बन्दना बमले संस्थाले लैंगिक हिंसा न्यूनीकरणका लागि गरिरहेका गतिविधिबारे प्रस्तुति दिएका थिए।
त्यसैगरी, साथी संस्थाका प्रोग्राम म्यानेजर पलिता थापाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै, लैंगिक हिंसा न्यूनीकरणका लागि स्थानीय सरोकारवाला निकायहरूसँग सहकार्य आवश्यक रहेको र पैरवी बैठकको मुख्य उद्देश्य सबै पक्षबीच समन्वय र साझा प्रतिबद्धता निर्माण गर्नु रहेको बताइन्।
बैठकमा विभिन्न सरकारी निकाय, सामाजिक संस्था, सञ्चार क्षेत्र, नागरिक समाज लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

